काठमाडौं, १९ फागुन । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशको विकास र समृद्धिका लागि निजी क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताएका छन् ।
खिचापोखरी न्युरोड व्यापार संघलेको ८ औँ अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको समृद्धिको कार्यभार कुनै एक पक्षले मात्रैपुरा गर्न नसक्ने बताएका हुन् । समृद्धि र विकासको कार्यभार पुरा गर्न सरकार र नीजि क्षेत्र सबैको हातेमालो आवश्यक रहेकोमा मन्त्री क्षेष्ठको जोड थियो ।
उपप्रधानमन्त्री क्षेष्ठले भने, ‘समृद्ध नेपाल निर्माणका लागि राज्यको दायित्व बढी छ । समाजबाद उन्मुख अर्थतन्त्र निर्माणका लागि राज्यको भूमिका बढी हुन्छ । तर निजी क्षेत्रको सहयोग विना यो सम्भवन छैन, त्यसैले नीजि क्षेत्रले समेत आफ्नो भूमिका बढाउनुपर्छ ।’

निजी क्षेत्रलाई आफ्नो भूमिका बढाउन र गतिशिल बनाउनका लागि सहजिकरण गरिदिनु पनि उनले आग्रह गरे । व्यवसायीका समस्या समाधानका लागि सरकार निरन्तर रुपमा लागि रहेको भन्दै श्रेष्ठले अगाडि थपे, ‘निजी क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि व्यवसायीहरुले राखेका कुराहरुमा मेरो गम्भिर चासो रहेको छ । प्रधानमन्त्रीको पनि यो विषयमा चासो छ, सरकारले यो बिषयमा छलफल समेत गरिरहेको छ । अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अघि बढाउनका लागि सरकारले गुणात्मक हस्तक्षेप गर्छ ।’

यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले व्यवसायीहरुको समस्या समाधानका लागि राज्यले ध्यान दिनु पर्ने बताए । व्यवसायीहरु हात्महत्या गर्ने अवस्थामा पुग्दा पनि राज्यले ध्यान दिन नसकेको उनको आरोप थियो ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले व्यवसायीहरु मर्कामा परेको भन्दै त्यस तर्फ राज्यले ध्यान दिनु पर्नेमा जोड दिए । व्यवसायीहरु काम गर्न सक्ने अवस्थामा नरहेको भन्दै कटुवालले यो अवस्थामा सरकारले ध्यान नदिने हो भने व्यवसायीहरु पलायन हुने अवस्था देखिएको बताए । राष्ट्र बैंक र अर्थमन्त्रालयका व्यक्तिहरुले व्यवसायीको कुरा नसुनेको भन्दै उनले राज्यले बैंकको ब्याजदर एकल विन्दुमा कायम गर्नु पर्नेमा पनि जोड दिए ।
व्यवसायीलाई आत्महत्या गर्नका लागि बाध्य बनाइएको भन्दै यो अवस्थाका लागि सरकार जिम्मेवार रहेको भन्दै यसमा ध्यान दिन कटुवालको आग्रह थियो ।
त्यस्तै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अर्थतन्त्र चलायमान बनाउने व्यवसायीलाई राज्यले उपेक्षा गरेको धारणा व्यक्त गरे । व्यवसायीले उठाएका विषयमा राज्यले ध्यान नदिएको भन्दै यसको परिणाम गम्भिर हुने उनले चेतावनी दिए ।
हेर्नुस् तस्बिरहरु ।




















तस्बिरः मिर्मिरे अनलाइन