फागुन १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि अहिले नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैंठकमा मन्त्रिपरिषद्बाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको बिषयमा छलफल भईरहेको छ । एमालेले यहि बैठकबाट सरकार छोड्ने निर्णय गर्न सक्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल केन्द्रित हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।
राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्रिपरिषद्ले नै गरेको निर्णयअनुसार मन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ त्यसतर्फ उड्न लागेको समयमा प्रधानमन्त्रीको निर्देशनपछि उनको भ्रमण रोकिएको थियो ।
उक्त बैठकमा एमाले सरकारबाट तत्काल फिर्ता हुने अथवा केही समय कुर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिसकेको छ ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।