राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी आज

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी आज

  • शनिबार, फाल्गुन १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदै छ ।

उम्मेदवारी दर्ताका लागि आज १० बजेदेखि दिउसो ३ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची आजै ४ बजेसम्म सार्वजनिक हुनेछ । दलहरूले उम्मेदवार कसलाई बनाउने भन्ने यकिन हुन बाँकी छ ।

कांग्रेस र एमालेले उम्मेदवार उठाउने सम्भावना छ । कांग्रेसको उम्मेदवारलाई निर्वाचित गराउने सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र सहित संसदमा प्रतिनिधित्व गर्ने १२ मध्ये आठ दल ले सहमती गरेका छन् । संघीय सांसद र प्रदेश सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको अन्तिम नामावली शुक्रबार सार्वजनिक भएको छ । जसमा संघीय संसद्का दुई जनाको नाम समावेश गरिएको छैन । रवि लामिछानेको सांसद पद बदर भएपछि चितवन–२ रिक्त छ ।

त्यस्तै मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बनमा परेका कारण उनको नाम मतदाता सूचीमा समावेश गरिएको छैन । सुरक्षाकर्मी थमन विकको हत्या आरोपमा थुनामा राख्नुपर्ने एमाले सांसद लक्ष्मी महतो कोइरीको नाम भने अन्तिम नामावलीमा समावेश गरिएको छ । उनी फरार रहेको प्रहरीले संसद् सचिवालयलाई समेत जानकारी गराइसकेको छ । कानुनी आधार नभएपछि फरार भए पनि उनी सांसदकै हैसियतमा छन् । निलम्बन नभएसम्म सांसद रहने भएकाले मतदाता नामावलीमा नाम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संसद् भवन बानेश्वरमा मतदानस्थल तोकिएको छ । उम्मेदवारी दर्ता पनि संसद्कै ल्होत्से भवनमा हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा भोली आइतबारसम्म उजुरी दिन सकिनेछ । उजुरी परेमा सोमबार जाँचबुझ गरी त्यही दिन नाम सार्वजनिक हुनेछ । उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ । २५ गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारले बहुमत ल्याउनुपर्ने हुन्छ । बहुमत ल्याउन नसकेमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । मतदानबाट समेत कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ ।

त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ