फागुण ९ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति आफू हुने विषयमा बाहिर चर्चा चलेको तर ठोस प्रस्ताव नआएको बताएका छन् ।
मंगलबार दाङको भालुवाङमा पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको बताए। ‘अहिले बजारमा हल्ला धेरै छन्। चर्चा परिचर्चा धेरै छन्। यस सन्दर्भमा कुनै टुंगो लागेको छैन,’ उनले भने, ‘चाहना राख्नु बेग्लै कुरा हो। मैले नै आफू के गर्ने सोचिसकेको छैन।’
राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘पावर सेरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ। अरूकै लागि सधैँ बलिदान भइन्न।’ अरूले मात्रै फाइदा उठाउने कुरा मान्य नहुने उनले प्रस्ट पारे।
राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए। ‘प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन,’ उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न। हतार नगरीकन पर्दाभित्र नै रहन दिनुपर्छ।’