फागुन ८, काठमाडौँ । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटका क्रममा अध्यक्ष ओलीले राष्ट्रपति पदको उम्मेदवार बन्न नेपाललाई प्रस्ताव गरेका छन् ।
आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको र सो क्रममा एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको स्रोतले बताएको छ ।
पार्टी विभाजनपछि व्याक्तिगत रुपमा नै बिरोधमा उत्रिएका ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले गत २०७८ को भदौमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।
एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत ओलीको सोही प्रस्ताव रहेको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको पदाधिकारी बैठकमा ओलीले राष्ट्रिय सहमति हुनेगरी उम्मेदवारको नाम अघि नसारेको ब्रिफिङ गरेका थिए । ओलीले वाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्थायी कमिटी सदस्य गुरु बराललगायतको नाम अघि सारेको दाहालले बैठकमा बताएका थिए ।
गठबन्धन जोगाउन ओली आफैंले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत आफूले पाएको दाहालले कांग्रेस नेताहरूलाई बताएका थिए । आइतबार राति दाहाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।