फागुण ७ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेले पाउने कुरा गठबन्धनमा शुरुमै सहमति भएको भन्दै माओवादीले पनि समर्थन गर्ने दाबी गरेका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ । यसमा माओवादीले साथ नदिने सम्भावना छैन । त्यसको परिकल्पना पनि नगर्नुहोला ।’
अहिले राष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेललगायत विभिन्न नामहरूमाथि भइरहेको चर्चा बारे उनले भने, ‘हामीले जो उम्मेदवार बनाउँछौँ तिनी नै राष्ट्रपति बन्छन् । त्यो १३ गते थाहा पाउनुहुन्छ । १३ गते नै म नाम लिन्छु ।’
पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरूसँग सहकार्य गर्न गरेको प्रस्तावबारे अध्यक्ष ओलीले ‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । वहाँ अझै पनि पुरानो झल्को आइरहन्छ । त्यो झल्कोले दुई–चराजना मान्छे वरिपरि देख्यो भने अलिअलि जोस्याउँछ । त्यति मात्र हो अरू केही होइन । त्यसैले के को सहकार्य ? भने ।