काठमाडौँ फागुण ४ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर सत्तारुढ गठबन्धनका दल एमाले र माओवादी केन्द्रबीच अविश्वास बढ्दै गएका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
सुर्खेत पुगेका उपप्रधानमन्त्री श्रेष्ठले भने सरकारलाई प्राप्त राष्ट्रिय सहमतिको अवस्थालाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
“हाम्रै नेतृत्वमा राष्ट्रिय सहमति कायम भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो । त्यसो हुँदा प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर उहाँहरुलाई पनि सम्बोधन गर्नेगरी राष्ट्रिय सहमतिको वातावरणलाई अझ सुदृण गर्ने गरी अगाडि बढ्नु राष्ट्रपति चयनका सन्दर्भमा पनि सान्दर्भिक हुन्छ भन्ने हाम्रो धारणा हो । त्योभन्दा बढी हामीले केही भनेका पनि छैनौं र हाम्रो चाहना पनि छैन, उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारहरूसँग भने ।
उनले कसैले भत्काउन चाहेर मात्रै गठबन्धन नभत्किने तर सत्तारुढ दलका आपसी व्यवहारमा पनि त्यो भरपर्ने उल्लेख गरे ।