फागुण ३ काठमाण्डौँ । भारतको एउटा सामान्य कर्मचारी आँउदा पूर्व प्रधानमन्त्रीदेखि राष्ट्र प्रमुख सम्म लम्पसार पर्ने गरेको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आपत्ति जनाएका छन् ।
आज संसदमा संवोधन गर्दै केसीले शक्तिराष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपले भूमिका खेले पनि यसपटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन्।
उनले शक्तिराष्ट्रहरूले यसपटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए। सांसद केसीले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दख्खल भइरहेको बताए।
सांसद केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्तिराष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे।
भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको उनले बताए।