फागुण १ काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसलाई रचनात्मक कार्यक्रम सहित राष्ट्रिय उत्सव र गौरवका रुपमा मनाउन अपील गरेका छन् ।
२८ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले , नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो । साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो । वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ । महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।, भनेका छन् ।
जनयुद्धकै कारण समावेशी लोकतन्त्र संस्थागत भएको, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ । सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको प्रचण्डद्धारा जारी सन्देशमा उल्लेख गरिएको छ ।
सन्देशमा भनिएको छ, नेकपा ९माओवादी० ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो । यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको छ । तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।
आजै पार्टी कार्यलय पेरिसडाँडामा शहिदहरुको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्रीले जनयुद्धको महत्व र उपलव्धिबारे मन्तव्य दिएका थिए ।
भिडियो :