माघ २६ धनगढी । संकटमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदै छन् ।
नेकपा एमाले संसदीय दलका नेता रहेका रावल गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठन भएको रावल नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।
सोही व्यवस्थाअनुसार रावलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ। हिजो नागरिक उन्मुक्ति पार्टीले विस्वासको मत नदिने भनेपछि प्रदेश सभाको बैठक आजका लागि सारिएको थियो ।
जेलमा रहेका रेशम चौधरी रिहाईको माग गर्दै उन्मुक्तिले सरकार ढाल्ने चेतावनी दिएको थियो ।
रावललाई मुख्यमन्त्री नियुक्ति हुँदा समर्थन गरेको रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने बताइरहेको छ। नागरिक उन्मुक्तिबाट प्रदेश सभामा ७ जना सांसद छन्।
यी सांसदले मत नदिएमा रावल नेतृत्वको सरकारले विश्वासको मत गुमाएर सरकार ढल्ने निश्चित छ ।
मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो।
प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्।