माघ २५ काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहभागिता र बहिर्गमनको विषयमा रवि लामिछानेलाई प्रश्न गर्दा उत्तेजित भएको विषयमा आपत्ति जनाएका छन् । उनले लामिछानेको नाम नलिई आलोचना गरेका हुन् ।
लोकतन्त्र संवाद केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा महामन्त्री थापाले रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको पनि बताए ।
‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो ? ’ उनले प्रश्न गरे ।
रास्वपा सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै पत्रकारिता क्षेत्रका विषयमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।
‘प्रेसले हामीलाई प्रश्न सोध्ने ? भनेर हामीले प्रतिशोधपूर्ण रुपमा हेर्न थाल्यौं भने प्रेस र राजनीतिकर्मीका डाइनामिक सम्बन्धहरू बिग्रन्छ । थापाले भने ।
लोकतन्त्रलाई यहाँसम्म ल्याउने कुरामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका छ । म पनि भन्छु, नेपालको प्रेसले पनि आफ्नोभित्र प्रश्न गरोस्, सुधारहरू पनि गरोस् । तर, प्रेसलाई हामीले ब्ल्याङ्केट डिसक्रेडिट गर्यौँ भने त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छ ।’ उनले भने ।
लामिछानेले गृहमन्त्री नपाएको झाँेकमा सरकारबाट बाहिरिने क्रममा सञ्चार माध्यम र पत्रकारको नामै किटेर धम्की दिएका थिए ।