गोरखा, १४ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिएका छन् ।
शनिबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रपतिमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् ।
राष्ट्रिय राजनीतिका अहम् मुद्दामा सहमति गराएर जानु उपयुक्त हुनेभएकाले राष्ट्रपतिमा सहमती आवश्यक रहेको उनले बताए । कम्तीमा कांग्रेससहित एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिहरूबीच राष्ट्रिय सहमति बन्नुपर्नेमा उनको जोड थियो ।
अभिभावकीय भूमिका भएकाले पनि राष्ट्रपति पदमा राष्ट्रिय सहमति भएमा राम्रो भट्टराईको भनाइ छ । ‘सकेसम्म सरकार निर्माणलगायतका विषयमा ५ वर्ष राष्टिय सहमति गरेर जाऔँ, नभए कम से कम देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्टपति सर्वसम्मतिले गरौँ भन्ने बहस चलिरहेको छ,’ उनले भने,‘ त्यसमा को व्यक्तिमा सहमति बन्छ अहिलै भन्न सकिने अवस्था चाहिँ छैन ।’
नेपालको राजनीतिमा देखिएको अन्योल र अस्थिरताको संकेतलाई हल गर्न पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए । ‘मैले सुरुदेखि नै शासकीय प्रणाली र निर्वाचन प्रणालीका कारण एक दलको मात्र बहुमत नआउने र स्थिर सरकार नबन्ने खतरा रहन्छ भनेको थिएँ, निर्वाचनपछि त्यही देखियो,’ उनले भने,‘विडम्बना एउटा गठबन्धन बनाएर निर्वाचन लड्यौँ, सरकार बनाउने क्रममा अर्को गठबन्धन बन्यो र विभिन्न मुद्दामा समीकरण फेरिइरहने परिदृश्य पनि देखिएको छ ।’