माघ १२ बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिएको भन्दै अब उनको परीक्षण हुने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेले आज आयोजना गरेको पत्रकार भेटघाटमा महतले प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको भए पनि काँग्रेस सरकारमा जानको लागि त्यो कदम नचालेको बताए । ” सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।” महतले भने ।
महतले संसदमा गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने बताए ।
नेपाली कांग्रेस नेता डा महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए ।
प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको स्पष्ट पारे ।