पुष २९ काठमाण्डौँ । नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।
आज काठमाण्डौँ शंखमुलको अर्याल होटलमा एक कार्यक्रमका बीच उनी एकीकृत समाजवादीमा समायोजन भएका हुन् ।
नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै थिए। २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार भुसाल पनि थिए।
तर नेपालले २०७८ साउनमा एमाले विभाजन गर्दा उनले माधव नेपाललाई साथ दिएका थिएनन्।
दुवै पक्षबीच कुरा मिलेपछि एमालेका तत्कालीन अर्थ तथा योजना विभाग प्रमुख भुसाल अब समाजवादीको महासचिव बन्ने भएका छन्।
उनले सो कार्यक्रममा बोल्दै केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन संकटमा परेको समेत टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको उनले बताए ।
‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु’, उनले भने, ‘यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ ।’
उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए ।