पुष २४ काठमाण्डौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ् आज काठमाण्डौँ आईपुगेका छन् ।
काठमाण्डौँ आईपुगेका राजदुत सोङले चीनले सधैँ झैँ नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सहयोग जारी राख्ने बताएका छन्।
राजदूत सोङ्ले अन्तराष्ट्रिय परिस्थिति जे जसो भएपनि नेपालसँगको चीनको सम्बन्धमा कुनै असर नपर्ने आफ्नो वक्तव्यमा स्पष्ट पारेका छन् ।
वक्तव्यमा सोङ्ले नेपाल र चीनका मौलिक चाहनाप्रति प्रतिवद्ध रहन, मित्रता बढाउन र साझा विकासका लक्ष्यमा अघि बढ्दै नयाँ युगमा साझा भविष्यका साथ निकटतम् चीन–नेपाल समुदाय निर्माण गर्न तयार रहेको उल्लेख गरेका छन्।
वक्तव्यमा उनले चिनियाँ राष्ट्रपतिको सन् २०१९ मा भएको ऐतिहासिक भ्रमणले रणनीतिक सहकार्य मजबुत बनाएको चर्चा गर्दै अबका दिनमा पनि सम्बन्ध बलियो बनाएर जाने उल्लेख गरेका छन्।
उनले नेपाल र चीनबीचको रणनीतिक साझेदारीमा आधारित सहकार्यमा नयाँ अध्याय थप्न नेपालका सबै तप्कासँग निकट रही काम गर्न तयार रहेको बताएका छन्।
राजदूत सोङ्ले दुई देशका जनतालाई अझ बढी लाभ मिल्ने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका नेताहरुबीचका महत्वपूर्ण सहमति कार्यान्वयन गर्न दत्तचित्त भएर लाग्ने उनले बताएका छन्।