पुष २४ काठमाण्डौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अहिले युवा पुस्तामा वितृष्णा बढेको र यसले आगामी निर्वाचन सम्ममा विद्रोहको रुप लिन सक्ने चेतावनी दिएका छन् ।
आजदेखि शुरु भएको पार्टीको राजनीतिक समितिको बैठकमा पेश गरेको राजनीतिक दस्तावेजमा डा. भट्टराईले समाजवादी शक्तिहरूबीच राजनीतिक ध्रुवीकरणको आवश्यकता रहेको उल्लेख गर्दै त्यस्ता दलहरूसँग सहकार्य र एकताको प्रस्ताव समेत गरेका छन् ।
आइतबारको बैठकमा उनले लिखित प्रतिवेदन पेस गर्दै अहिले चुनावमा देखिएको नयाँ प्रवृत्तिको विश्लेषणसहित यस्तै अवस्था रहे अहिलेका राजनीतिक दलहरू अझ खुम्चिने प्रक्षेपण गरेका छन् ।
उनले युवा पुस्ताको मनोविज्ञान नबुझे अर्को निर्वाचनसम्म विद्रोह आउन सक्ने चेतावनी दिएका हुन् । पुराना र ठूला दलहरुको दम्भ, घमण्ड, अधिकांश नेताहरुको अक्षमता, नैतिकता र इमानदारितामा ह्रास देखेर युवा पुस्ताभित्र जसरी वितृष्णा बढ्दै गइरहेको छ, त्यो अर्को निर्वाचनसम्म विद्रोहमा रुपान्तरण नहोला भन्न सकिन्न । स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन नतिजाले त्यसैको सङ्केत गरेको छ‚ भट्टराईले भनेका छन् ।
उनले हतारमा नयाँ शक्ति पार्टी निर्माण गर्दा अपेक्षित सफलता हासिल नगरेको र विभिन्न प्रक्रियामार्फत गुज्रँदै अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।
अध्यक्ष भट्टराईले अहिलेका पार्टीहरूको रुपान्तरणदेखि अब मुलुकको परिवर्तनका लागि समाजवादीहरूबीचको ध्रुवीकरण आवश्यक पर्ने उल्लेख गरेका छन् ।
यस्तो छ डा. भट्टराईको राजनीतिक दस्तावेजको पूर्ण पाठः
https://www.mirmireonline.com/wp-content/uploads/2023/01/Draft-of-Political-Document.pdf