काठमाडौं, २२ पुस । भोलि शनिबार बस्ने शीर्ष नेताको बैठकमा पेश गरिने सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ।
शुक्रबार अर्थमन्त्रालयमा बसेको कार्यदलको बैठकले तयार पारेको मस्यौदा मुख्यतः जनतालाई परिवर्तन दिलाउने विषय,विकासको अनुभूति दिने कुराहरु समावेश छन्।
यस्तै सुशानलाई पनि प्राथमिकता दिइएको बताईएको छ ।
न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण,स्वास्थ शिक्षा,सेवा प्रवाह चूस्तदुरुस्त,मलका विषयलगायतका कार्यक्रमहरु समावेश गरिएको छ । जसअन्तर्गत् धेरै घुँइचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरीकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रम लगायत प्राथमिकतामा राखिएको छ ।
सुशासन,राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार,समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका एजेन्डालाई सरकारको प्राथमिकताका कार्यक्रममा समेटिएको छ । यस्तै,महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि यो सरकारको प्राथमिकतामा परेको छ । नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने,भ्रष्टाचार नियन्त्रण,जनजीविकाका सवाल केन्द्रमा राखेर न्यूनतम कार्यक्रम ल्याउने सत्ता साझेदार दलहरूको तयारी छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादी केन्द्रबाट वर्षमान पुन,राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल,राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।