पुस २२, काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले सांसद मन्त्री हुने व्यावस्था हटाउनुपर्ने बताएका छन् । आज आयोजित एक कार्यक्रममा उनले अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको प्रमुख स्रोत भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्ने बताए ।
‘हाम्रो शासन प्रणाली गलत छ । संसद्बाट मन्त्री छान्ने व्यवस्था रहुन्जेल भ्रष्टाचार नियन्त्रण हुन्न झन ध्वस्त हुन्छ,’ गौतमले भने ‘त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था होस् र संसद्बाट मन्त्री हुने व्यवस्थाको अन्त्य होस् ।’
उनले थपे, अहिले शासन प्रणालीले निर्वाचित गर्नका लागि धेरै पैसा खर्च गराउँछ । जसले जानेको र सुधार गर्न चाहान्छ त्यसलाई अनेकथरी गरेर हराइन्छ ।
निरंकुश शासन हुँदैमा भ्रष्टाचार नियन्त्रण नहुने भन्दै उनले सांसद मन्त्री बन्ने प्रणलीको नै अन्त्य गर्नुपर्नेमा जोड दिए । गौतमले भ्रष्टाचारको नियन्त्रणका लागि भूमिमाथि व्यक्तिको स्वामित्व पनि समाप्त गर्नुपर्ने बताए ।