१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुक राजनीतिक, आर्थिक, सामाजिक र मानवीय समस्याले घेरिएको भन्दै यो बेलामा राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताए ।
‘एकातिर अर्थतन्त्र दर्दनाक अवस्थामा छ । विश्वको मन्दी यहाँ घुम्दै आएको छ । अर्कोतिर चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दैघुम्दै नेपाल आउँदैछ भनिएको छ । यस्तो बेला राष्ट्रिय सहमतिको सरकार आवस्यक पर्छ, पौडेलले भने ।
केही समय मुलुकका सबै राजनीतिक शक्ति मिलेर पटक पटकको राजनीतिक क्रान्तिबाट प्राप्त परिवर्तन र संविधानको रक्षा गर्नुपर्ने पौडेलले बताए ।
संविधान जारी भएपछि राजनीतिक स्थायित्वको आशा गरे पनि प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा स्थायित्व हुन नसकेको भन्दै पौडेलले अहिले पनि मुलुक अस्थिरतातिर जान लागेको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा राजनीतिक स्थिरताकै लागि आन्दोलन गरेको भन्दै वरिष्ठ नेता पौडेलले स्थायित्व दिने पटक पटकको प्रयास विफल भएको बताए ।