पुस १८, काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकारसँग पार्टीले कस्तो सम्बन्ध राख्ने भन्ने विषयमा पोलिटब्युरो सदस्यहरूसँग राय मागेका छन् ।
आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा सदस्यहरूसँग पुरानो गठबन्धन कसरी टुट्यो र नयाँ कसरी बन्यो तथा योसँग हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा जिज्ञासा राख्दै सरकारसँगको सम्बन्धबारे धारणा माग गरेका हुन् ।
शनिबार र आइतबार भएको स्थायी कमिटीको बैठकले सरकारबारे स्पष्ट दृष्टिकोण निर्माण गर्न नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा सरकार, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिखित प्रस्ताव राखेका थिए‚ जसमा वामपन्थी दलहरूको कार्यगत एकता भए मात्रै सरकारमा जान सकिने उल्लेख गरिएको छ ।
उनले पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारलाई खिचडी सरकारको संज्ञा दिएका छन् । उक्त प्रतिवेदनमा राजावादी राप्रपादेखि रहस्यमयी दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसम्म सरकारमा रहेको उल्लेख छ ।
खनालले मंसिर ४ को निर्वाचनबाट नयाँ शक्ति बनाएर उदाएका पार्टीहरूलाई बुर्जुवा भएको आरोप लगाएका छन् । खनालको दस्तावेजमा भनिएको छ, ‘रहस्यमय शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसैले गृह मन्त्रालय खान थालिसकेको छ । त्यो पनि आम रूपमा बुर्जुवा उदारवादकै पक्षमा देखिन्छ ।’
सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि बुर्जुवा उदारवादी नै भएको खनालको ठहर छ ।’तराईमा जनमत पार्टी उदाएको छ । त्यो पनि आम रूपमा त्यसै वर्गीकरणमा देखिन्छ,’ खनालले लेखेका छन् ।
सरकारमा दुवै पार्टीको सहभागितालाई लिएर पनि खनालले प्रश्न उठाएका छन् । उनले राउत र लामिछानेको पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको बारे लेखेका छन्,’मधेस देश बनाउनेहरू पनि त्यहीँ छन् । संघीयता खारेज हुनुपर्छ भन्नेहरू पनि त्यहीँ छन् । नेपालको नागरिकताबारे नै गम्भीर विवादमा रहेका र सर्वोच्च अदालतमा मुद्दा खेपिरहेकाहरू पनि त्यहीँ छन् ।’