पुष १५ काठमाण्डौँ । प्रचण्ड प्रधानमन्त्री भए लगत्तै छिमकी चीनले नेपालमा राजनीतिका साथ साथै विकास र आपसी सम्बन्ध सुधारका गतिविधिमा तीव्रता दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड बनेकै दिन चीनले बधाई दिएको थियो । त्यसको भोलीपल्ट केरुगं नाका खुलायो । जुन कोरोना पछि बन्द थियो । हुम्लाको हिल्सा नाका पनि खोलिदियो ।
त्यसपछि तातोपानी नाका पनि सुचारु गर्ने जानकारी गराएको छ भने केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोलीले एक साताभित्रमै ‘फिल्ड सर्भे’को काम थाल्ने भएको छ ।
गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ ।
रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार चिनियाँ टोलीसँगै विभागको प्राविधिक टिम पनि फिल्ड सर्भेमा जाने छ । ‘चीनबाट आएको प्राविधिक टोली अहिले आन्तरिक व्यवस्थापनमा छ,’ उनले भने, ‘आन्तरिक व्यवस्थापनको काम सकिना साथ फिल्ड सर्भेमा जाने छ ।’ टोलीले तीन हप्तासम्म नेपाल बसेर फिल्ड सर्भे गर्ने छ । त्यसपछि करिब डेढ महिनाका लागि चीन फर्कने छ । चीनले आफ्नै खर्चमा अध्ययन गर्नेछ ।
यता त्रिशुली बी जलविद्युत आयोजनाको काम पनि शुरु गर्ने तयारी गरेको छ भने दैलेखको पेट्रोलियम पदार्थको उत्खननको कार्य पनि सुचारु गर्ने तयारी गरेको छ ।
आजै मात्र चीनीया प्रधानमन्त्रीका तर्फबाट प्रचण्डलाई बधाई पत्र पठाँउदै सम्बन्ध नयाँ उचाईमा पुर्याउन सहकार्य गर्ने जनाएका थिए ।
धेरै जसो विज्ञले प्रचण्ड प्रधानमन्त्री भएपछि चीन आर्थिक सम्बन्ध र विकास एवं राजनीति सबै रुपले सक्रिय भएको अनुमान गर्न थालेका छन् ।