पुष १० काठमाण्डौँ । नेपाली काँग्रेस यस पटक गठबन्धन गरेर सबै भन्दा ठूलो दल बनेको थियो । उसले सरकारको नेतृत्वमा दावी गर्नु स्वभाविक भए पनि आफैले गरेको सहमति लागू गर्न नसक्दा मुखैमा आएको सत्ताको गाँस भुईमा पुगेको छ ।
यसको सबै भन्दा ठूलो अपजस पार्टी सभापति शेर बहादुर देउवालाई गएको छ । उनले साथीहरुले मानेनन्, म सहमति कार्यन्वयन गर्न सक्दिन भनेपछि गठबन्धनको साझेदार दल माओवादी अध्यक्ष प्रचण्ड धोका महसुस गर्दै बालकोट पुगे ।
बालकोटमा ओलीको स्वागत सँगै तयार भयो नयाँ गठबन्धन । जसले गर्दा अब केन्द्रमा सरकार त गुम्यो नै , राष्ट्रपति, सभामुख, प्रदेश सरकार जस्ता सबै विषय काँग्रेसको हातबाट गुमेको छ ।
देउवाले अन्तिम सम्म निर्णय लिन नसक्दा काँग्रेस सत्ता विहीन बनेको भन्दै पार्टी भित्रैबाट देउवाको बिरोध शुरु भएको छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाले सहमति कार्यन्वयन नगरेर प्रचण्डलाई धोका दिएको सार्वजनिक रुपमै टिप्पणी गरेका छन् । प्रचण्डले नभई देउवाले धोका दिएको उनको सिधा टिप्पणी छ । यसले पनि काँग्रेस भित्र देउवाको उत्तरार्ध नेतृत्व क्षमतामा प्रश्न उठेको छ ।