पुष ८ काठमाण्डौँ । ओलीले संसद विघटन गरेपछि शुरु भएको देउवा प्रचण्ड सम्बन्धमा को पहिले प्रधानमन्त्री हुने भन्ने कुराले बहस तातिएको छ । गठबन्धनबाटै सरकार बनाउने कुरामा दुबै नेता सहमत भए पनि देउवा पहिले कि प्रचण्ड पहिले भन्ने दावी आ आफ्नै रहँदा सरकार गठनको मिति नजिकिदा समेत सहमति हुन सकेको छैन ।
आज दुई नेताबीच साँझ सम्म बालुवाटारमा छलफल भए पनि सहमति हुन नसकेको र भोली पनि गठबन्धनका नेताहरुबीच छलफल चल्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राष्ट्रपति काँग्रेसलाई दिएर पहिला आफू प्रधानमन्त्री हुने प्रचण्डले प्रस्ताव गरेका छन् । देउवाले पहिलो २ वर्ष काँग्रेसलाई दिन भन्दै प्रस्ताव गरिरहेको बुझिएको छ ।
उच्च स्रोतका अनुसार प्रचण्ड पहिला प्रधानमन्त्री बन्नु पर्छ भन्ने कुरामा माधव नेपाल र उपेन्द्र यादव समेत सहमत छन् ।
देउवा समेत लचिलो हुने अवस्था रहे पनि काँग्रेस भित्रबाट पहिला सरकारको नेतृत्व नछाड्न दबाब बढेकाले देउवा पछि सर्न मानेका छैनन् ।
राष्ट्रपतिले दिएको समयसिमा अनुसार पुष १० भित्र बहुमत सांसदहरुको समर्थन सहित प्रधानमन्त्रीमा नाम प्रस्ताव गर्नु पर्नेछ ।