काठमाडौं, पुस २ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ।
आयोगले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने तयारी भएको आयोगले जनाएको छ ।
यसका लागि आयोगका पदाधिकारी हरेक प्रदेशका राजधानी पुगिसकेका छन्। प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती प्रदेशको राजधानीहरूमा पुगेका छन्।
यस्तै गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधर पुगेका छन्।
प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।
आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ।