विराटनगर, १ पुस । नेकपा एमालेले विराटनगर महानगरपालिकाको पछिल्ला निर्णय, गतिविधि र काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।
एमाले महानगर कमिटी अध्यक्ष सागर थापाले महानगर हचुवाका भरमा निर्णय गरेर अघि बढेको भन्दै असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले अध्ययन र अनुसन्धान विना नै हचुवाको भरमा निर्णय गरेर महानगर अघि बढिरहेको टिप्पणी गरेका छन् ।
‘महानगरपालिकाले गर्ने हरेक काम र गतिविधिमा सरोकारवाला र विज्ञहरुसँग व्यापक छलफल हुन सकेको पाइएन,’ उनले लेखेका छन्, ‘खुला र पारदर्शी समाजमा गरिने जथाभावी हिसाबले गर्ने कामले समर्थन पाउन सक्दैन ।’ संगठन संरचना व्यवस्थापन अध्ययन नगरिकन महानगरमा कर्मचारीलाई विभिन्न परिबन्धमा पार्ने, बिनाकारण हटाउने तथा मापदण्डविपरीत सरुवा गर्ने काम भएको थापाको आरोप छ । हचुवाका भरमा सरुवा, बढुवा गर्ने र कर्मचारी टाउने काम राम्रो नभएको उनले बताए ।
नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि कुन कानुन टेकेर कर्मचारी नियुक्त गरिएको हो भन्ने कुरा जनताले थाहा पाउनुपर्ने भन्दै उनले कर्मचारी नियुक्तिमा प्रश्नसमेत उठाएका छन् । यस्तै कार्यपालिकाले विराटनगरका १९ मध्ये वडा नम्बर १४, १६ र १८ का केही क्षेत्रबाहेक अन्य वडालाई गैरकृषि क्षेत्र तोकेर सिफारिस गरेको निर्णयप्रति पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।
जग्गाको कित्ताकाट रोकिँदा आवास क्षेत्रमा पनि नयाँ घरहरू थपिने क्रम सुस्त भएको र आन्तरिक आम्दानी नबढेको निष्कर्षसहित महानगरले भू–उपयोग नीति पारित गरी कार्यान्वयनमा लैजाने पहल गरेको थियो । ‘कित्ताकाट, कृषि र गैरकृषि क्षेत्र भनेर छुट्याइएको निर्णयका बारेमा धेरै प्रश्न उठेका छन्,’ उनले भने, ‘यस विषयमा महानगरवासीले जानकारी पाउनुपर्छ ।’
थापाले विराटनगरको विकास सुस्त गतिमा भइरहेको आरोप पनि लगाए । फोहोर मैला व्यवस्थापन जस्ता कामले गति नलिनु दुःखद् भएको थापाको भनाइ छ । समयमै निर्माण सम्पन्न गरेका उपभोक्ता समितिले भुत्तानी पाउन सास्ती झेलिरहेको र भुक्तानी नपाइरहेको गुनोसो व्यापक हुँदासमेत महानगरले चासो नदेखाउनु गम्भीर विषय भएको उनले बताए ।
महानगर कार्यपालिकामा एमालेको बहुमत छ । पार्टीका नगर अध्यक्ष थापाले स्थानीय तह निर्वाचन भएको ८ महिना पछि महानगरबाट भएका क्रियाकलापप्रति पहिलो पटक सार्वजनिक टिप्पणी गरेका हुन् ।