मंसीर २९ काठमाण्डौँ । निर्वाचन आयोगले मंसिर चारमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।
राष्ट्रपति भवनमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्।आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताएकी थिईन् ।
यो निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको थपलियाले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।
प्रतिवेदन पेश भएकाले अब राष्ट्रपतिले केही दिनमै संविधानको धारा ७६ अनुसार सरकार गठनको लागि आव्हान् गर्ने संभावना रहेको छ । त्यसपछि नयाँ सरकार गठन अघि बढ्नेछ ।