मंसीर २९ दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सरेसँगै सरकारले कर्मचारीलाई आवास सुविधा उपलव्ध गराउने निर्णय गरेको हो ।
बुधबार साँझ बसेको बैठकले राजधानी सार्न सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।
त्यसका लागि कर्मचारीलाई चार वर्गमा विभाजन गरी सुविधा तोकिएको छ। श्रेणीविहीन कर्मचारीलाई मासिक ३ हजार ५ सय रुपैयाँ, चौथो, सहायक पाँचौँ र अधिकृतसम्मलाई ६ हजार आवास सुविधा दिने निर्णय प्रदेश सरकारले गरेको छ। राजधानी स्थापना भएको दिनदेखि लागू हुनेगरी आगामी असार मसान्तसम्मको लागि यो सुविधा उपलब्ध गराइने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए।
प्रदेश सरकारअन्तर्गतका १३ मन्त्रालय तथा कार्यालयहरुमा ३ सय ३० जति कर्मचारी छन्। यी कर्मचारीहरुलाई आवास सुविधा दिँदा सरकारलाई आर्थिक व्ययभार पनि बढ्ने छ।
बिदा हुन लागेको सरकारले राज्यकोषलाई व्ययभार बढ्ने निर्णय गरेको भन्दै आलोचना शुरु भएको छ।