२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसलाई समानुपातिक सांसदहरु छान्न सकस परेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विना निष्कर्ष टुंगिएको छ ।
समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि काँग्रेसलाई तनाव परेको हो ।
आजै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ । शनिबारको बैठक समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा। प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आआफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरु आकांक्षी छन् ।
समानुपातिक निर्वाचन पद्धतितर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन समानुपातिक पद्धतिबाट २९ जना महिला चयन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।
कांग्रेसभित्र प्रदेश १, मधेश, बागमती र लुम्बिनीका समानुपातिक सांसद चयन गर्न पनि विवाद भएको छ ।
कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले पदाधिकारी र कार्यसम्पादन समिति सदस्यको सुझाव लिएर सभापति देउवाले समानुपातिक पद्धतिबाट सांसदको नाम तय गर्ने बताए ।