रूपन्देही मंसीर २० । चुनाव सकिए लगत्तै लुम्वीनी प्रदेशको सरकारी कार्यलयहरु धमाधम वुटवलबाट दाङ सारिएका छन् । गएराति नै मुख्यमन्त्री कार्यलयको सामाग्री समेत दाङ पुर्याईएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने तयारी रहेको उनले बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने ।
३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो । सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।
सामाग्री सारेको मन्त्रालयका कर्मचारी र कतिपय सचिवालयका कर्मचारीले समेत मंगलबार बिहान मात्र जानकारी पाएका छन् । मुख्यमन्त्री कार्यालयका एक अधिकृतका अनुसार सोमबार दिनभर पनि सामाग्री सार्ने विषयमा कुनै छलफल र तयारी मन्त्रालयमा थिएन । ‘तर, राति अचानक सारिएछ, अहिले हल्ला सुनेको छु,’ ती अधिकृतले भने, ‘देउखुरीमा कहाँ राखिएको छ भन्ने कुनै जानकारी छैन ।’
मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह विकले देउखुरीमा राति लगिएका सामाग्री अहिले राप्ती प्राविधिक शिक्षालयको प्रशासनिक भवनमा व्यवस्थापन गर्न लागिएको बताए । ‘
मुख्यमन्त्री केसीले अबको आफ्नो अन्तिम मन्त्रीपरिषद् बैठक देउखुरीमै बसालेर आफू बिदा हुने गरी आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद्को बैठक कक्ष एवं सचिवालय मात्र व्यवस्थापन गर्न खोजेको मुख्यमन्त्री कार्यालयका एक उपसचिवले बताए । ‘मैले बुझे अनुसार सबै सार्नेभन्दा पनि अबको पहिलो मन्त्रिपरिषद् बैठक देउखुरीमै बसाल्ने उहाँको प्रयास हो,’ उनले भने, ‘त्यसपछि के हुन्छ भन्ने निर्णय त्यसपछिकै मुख्यमन्त्रीले गर्ने भएकाले अहिले सारिएका बाहेक अन्य सामान र कर्मचारी सर्ने सम्भावना न्यून छ ।’
प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरुको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ ।
यस अघि नै प्रदेश सभाले राजधानी वुटवलबाट दाङ सार्ने निर्णय गरेको थियो ।