दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज पत्राचार गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार भारतीय विदेश मन्त्रालयलाई आइतबार भएको झडपको घटना विवरण र तटबन्धका विषयमा पत्राचार गर्न लागेको हो ।
गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि परराष्ट्र मन्त्रालयलाई सोमबार साँझ चिठी लेखेको छ ।
गृह मन्त्रालयको चिठीका आधारमा मंगलबार भारतलाई चिठी पठाउने तयारी भएको छ ।
नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि दार्चुलाका स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको थियो ।
भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरेको विरोधमा स्थानीयले पुल बन्द गरेका थिए । उक्त स्थानमा एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको छ । आइतबार दिउँसो भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नेपालतिर पानीको बहाव फर्काउने गरी काम थालेपछि नेपाली पक्षले विरोध गरेका थियो । त्यसपछि दुवैतर्फ ढुंगा हानाहान भएको थियो । भारतीय समुहको ढुंगा लागेर चार नेपाली घाईते भएका थिए ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेर बसिरहेको भारतले महाकालीमा पनि मनपरी गरिरहँदा सरकारले ठोस प्रतिकृयाजनक काम गर्न सकेको छैन ।