मंसीर १८ काठमाण्डौँ । मंसीर ४ गतेको आम निर्वाचनको दोलखाको अन्तिम परिणाम सार्वजनिक भएको छ । जहाँ माओवादी केन्द्रका गंगा कार्की झिनो मतान्तरले बिजयी भएका छन् ।
उनले एमालेका बालकृष्ण शिवाकोटीलाई पाखा लगाउदै जीत दर्ता गराएका हुन् ।
कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई हराएका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने ८५ हजार तीन सय ८८ मत खसेको थियो ।
कार्कीको जित सँगै गठबन्धन गरेर चुनावमा गएको माओवादी केन्द्रको प्रत्यक्ष तर्फको सिट संख्या १८ पुगेको छ । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन गर्दा ३६ सिट प्रत्यक्षमा जितेको माओवादीलाई यस पटक काँग्रेससँगको गठबन्धनले भने घाटा देखिएको छ । ४३ स्थानमा उम्मेद्धारी दिएको माओवादी १८ सिटमा खुम्चिएको हो ।