बैशाख ८ एजेन्सी । रुसले युद्ध शुरु गरेको ५७ औँ दिनमा पूर्वी युक्रेनको रणनीतिक महत्वको मारिउपोल शहर पूर्ण रुपमा कब्जा गरेको राष्ट्रपति भ्लादीमीर पुटिनले घोषणा गरेका छन् ।
पुटिनले रक्षामन्त्री सरगेई सुगोउसँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् ।
बन्दरगाह शहर पूर्ण रुपमा मुक्त गरिएको घोषणा गर्दै दुई पटक आत्मसमर्पण गर्न चेतावनी दिँदा पनि नगरेका करीब २ हजार युक्रेनी सेना र केही विदेशी लडाकु एजोभस्टील फ्याक्ट्रीमा थुनिएको र उनीहरुलाई पूर्ण रुपले घेराबन्दी गरिएको रक्षा मन्त्रीले जनाउ दिएका छन् ।
स्टील प्लान्टका बंकरहरुमा लुकेका युक्रेनी सेनाले भाग्ने बाटो खोजीरहेको तर चारैतिरबाट घेराबन्दी कसेको रुसी सेनाले जनाएको छ ।
हाल सम्म १४७८ युक्रेनी सेनाले आत्मसमर्पण गरीसकेको पनि रुसले जनाएको छ ।
यो शहर जितेपछि रुसले यो युद्धमा महत्वपूर्ण जीत निकालेको ठानिने छ ।
यस युद्धका क्रममा दशौँ हजार सेना, सर्वसाधारणको ज्यान गईसकेको छ ।