वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले व्यहोरेको पराजयको प्रमुख कारण इरान युद्ध भएको स्वीकार गरेका छन्। यद्यपि, उनले इरानविरुद्ध सैन्य कारबाही गर्ने आफ्नो निर्णय गलत नभएको जिकिर गर्दै आवश्यक परे फेरि पनि त्यस्तै कदम चाल्ने बताएका छन्।
ट्रम्पको यो भनाइ उपराष्ट्रपति जेडी भान्सले इरान युद्ध नै रिपब्लिकन पार्टीको चुनावी पराजयको मुख्य कारण भएको टिप्पणी गरेपछि आएको हो।
अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत प्राप्त गरेको छ। यससँगै ट्रम्पको आगामी कार्यकालमा राजनीतिक चुनौती थपिने देखिएको छ।
निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबारे सोधिएको प्रश्नमा ट्रम्पले इरान युद्धका कारण केही समय पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसले मतदातामा असन्तुष्टि सिर्जना गरेको स्वीकार गरे।
‘मलाई लाग्छ, यो धेरै हदसम्म सत्य हो। युद्धका कारण केही समयका लागि पेट्रोलको मूल्य बढेको थियो। तर, फेरि त्यस्तो परिस्थिति आएमा म यही निर्णय दोहोर्याउनेछु,’ ट्रम्पले भने।
उनले दीर्घकालीन समाधानका लागि इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्नु आवश्यक रहेको पनि बताए। इरानले परमाणु हतियार प्राप्त गर्न नहुने भन्दै त्यसका लागि सैन्य कारबाहीसमेत आवश्यक हुन सक्ने उनको भनाइ छ।
ट्रम्पले रक्षा सचिव पीट हेगसेथलाई पदबाट हटाउने सम्भावना पनि अस्वीकार गरेका छन्। इरानविरुद्ध सैन्य कारबाहीका कट्टर समर्थक मानिने हेगसेथले राम्रो काम गरिरहेको भन्दै ट्रम्पले उनलाई निरन्तरता दिने स्पष्ट पारे।
यसअघि उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समार्फत लामो प्रतिक्रिया दिँदै इरान युद्ध नै रिपब्लिकन पार्टीको चुनावी हारको मुख्य कारण भएको बताएका थिए।
उनले युद्धपछि बढेको महँगी र पेट्रोलियम पदार्थको मूल्यले मतदातालाई रिपब्लिकन पार्टीबाट टाढा बनाएको उल्लेख गरेका थिए। चुनावी पराजयको समीक्षा गर्दा सबैभन्दा पहिले युद्धको प्रभावबारे निष्पक्ष छलफल हुनुपर्ने उनको भनाइ थियो।
रिपब्लिकन पार्टीको चुनावी पराजयपछि पार्टीभित्रै ट्रम्पको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ। वरिष्ठ रिपब्लिकन लबिस्ट बिल मिलरले चुनावी हारको जिम्मेवारी ट्रम्पले नै लिनुपर्ने टिप्पणी गरेका छन्।
उनले यसलाई राष्ट्रपति ट्रम्पप्रतिको स्पष्ट अस्वीकृति भन्दै निर्वाचन परिणाम अपेक्षाभन्दा निकै खराब आएको बताएका छन्।
चुनावी पराजयपछि ह्वाइट हाउसले भने ट्रम्प अझै पनि अमेरिकाका राष्ट्रपति रहेको सन्देश दिएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टमा ट्रम्पलाई ओभल अफिसस्थित रिजोल्युट डेस्कनजिक उभिएको तस्बिरसहित प्रस्तुत गरिएको थियो।
निर्वाचनमा पराजयपछि ट्रम्पले आफ्नो भिटो अधिकार प्रयोग गर्ने चेतावनीसमेत दिएका छन्।
अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट, हाउस अफ रिप्रेजेन्टेटिभ्स र गभर्नर पदहरूमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ। संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत कायम भएपछि ट्रम्पलाई आगामी दिनमा आफ्ना नीति तथा निर्णय कार्यान्वयन गर्न थप राजनीतिक चुनौती सामना गर्नुपर्ने देखिएको छ।