युरोपमा महँगी, कमजोर सार्वजनिक सेवा र बढ्दो असमानताको विरोधमा युवाहरू सडकमा उत्रिएका छन्। फ्रान्स र जर्मनीका विभिन्न सहरमा आयोजित प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जर्मनीको बर्लिन, फ्र्यांकफर्ट, म्युनिक लगायत ३४ सहरमा ‘जेनजी रेगेल्ट’ अभियानको आह्वानमा प्रदर्शन भएको हो। प्रदर्शनकारीले अनिवार्य सैनिक सेवाको विरोध गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न माग गरेका छन्। फ्र्यांकफर्ट र ह्याम्बर्गलगायत सहरमा पसल लुटपाट, तोडफोड तथा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले भीड नियन्त्रणका लागि पानीको फोहोरा प्रयोग गरेको थियो। आयोजकले ठूलो सहभागिताको अपेक्षा गरे पनि प्रहरी अनुमान अनुसार मुख्य सहरहरूमा करिब १८ हजार युवाहरू सडकमा आएका थिए।
यता फ्रान्समा महँगी र सार्वजनिक सेवाको सुस्त अवस्थाविरुद्ध तेस्रो चरणको प्रदर्शन भएको छ। गृह मन्त्रालयका अनुसार पेरिस, मार्सेई, लियोँ र तुलुज लगायत सहरमा गरी करिब ३ लाख २० हजार मानिस प्रदर्शनमा सहभागी भएका छन्। दिनभर शान्तिपूर्ण देखिएका प्रदर्शनहरू साँझपख झडपमा परिणत भएका थिए। प्रहरीले अश्रुग्यास र स्टन ग्रिनेड प्रयोग गरी भीड तितरबितर पारेको छ भने देशभरबाट ५११ जनालाई पक्राउ गरेको छ। पेरिसमा एक प्रहरी अधिकारीमाथि पेट्रोल बम प्रहार भएपछि गृहमन्त्रीले त्यसलाई हत्या प्रयासको संज्ञा दिएका छन्। सरकारले स्थिति नियन्त्रणमा लिन ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ।
विद्यार्थी, मजदुर संगठन र विभिन्न आन्दोलनका समर्थकहरूले सरकारको आर्थिक नीति र राष्ट्रपति इम्यानुएल म्याक्रोंको कार्यशैलीप्रति तीब्र असन्तुष्टि व्यक्त गरेका छन्। आगामी दिनमा पनि विद्यालय, विश्वविद्यालय तथा ट्रेड युनियनहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। इटाली र स्पेन लगायतका अन्य युरोपेली देशहरूमा पनि युवा नेतृत्वको यो असन्तुष्टिले सरकारहरूमाथि ठूलो दबाब सिर्जना गरेको छ।