इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन आउने अपेक्षा गर्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दललाई धक्का लागेको केही घण्टापछि बुधबार उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
आफ्नो वेबसाइटमा प्रकाशित लिखित सन्देशमा खामेनीले अमेरिकी राजनीतिक दल वा नेतृत्वमा परिवर्तन हुँदैमा इरानप्रतिको अमेरिकी नीति बदलिन्छ भन्ने सोच गलत भएको बताउनुभयो ।
“दलीय वा गुटगत परिवर्तनमार्फत प्रभुत्ववादी प्रणालीको व्यवहार बदलिन्छ वा अमेरिकालाई सहुलियत दिँदा उसले इरानी राष्ट्रप्रतिको शत्रुता त्याग्छ भन्ने अझै आशा गर्नेहरू गम्भीर भ्रममा छन्,” उहाँले भन्नुभयो ।
मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले अमेरिकी कङ्ग्रेसमा नियन्त्रण कायम गरेका छन् । निर्वाचन परिणामले जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानविरुद्ध अमेरिकाले सञ्चालन गरेको युद्धप्रति अमेरिकी जनताको असन्तुष्टि प्रतिबिम्बित गरेको छ । युद्धका कारण इन्धनको मूल्यसमेत निकै बढेको छ ।
गत फेब्रुअरी २८ मा सुरु भएको युद्ध पुनः चर्किन नदिन कूटनीतिक प्रयास भइरहेका बेला खामेनीको यस्तो टिप्पणी आएको हो ।
पछिल्ला दिनहरूमा अमेरिका र इजरायलका नेताहरूले इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएका छन् ।
“यस्ता आक्रमण दोहोरिएमा युद्धको दायरा अझ विस्तार हुनेछ,” खामेनीले चेतावनी दिनुभयो ।
गत मार्चमा सर्वोच्च नेता नियुक्त भएयता ५७ वर्षीय खामेनी सार्वजनिक रूपमा देखा पर्नुभएको छैन् । उहाँले अहिलेसम्म लिखित सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आउनुभएको छ ।
यसअघि अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर घालीबाफले अमेरिकी जनताले मध्यावधि निर्वाचनमार्फत युद्धको विपक्षमा मत व्यक्त गरेको बताउनुभएको थियो ।
उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विवेकका कारण होस् वा जीवनयापनको बढ्दो खर्चका कारण, अमेरिकीहरूले युद्धलाई अस्वीकार गरेका छन् । हामी उनीहरूको यस सन्देशको समर्थन गछौँ ।”
घालीबाफले अमेरिकी सरकारले आफ्नै जनताको इच्छाविपरीत काम गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिनुभएको छ ।
यसैगरी, इरानका न्यायपालिका प्रमुख गुलामहोसेन मोहसेनी एजेईले पनि अमेरिकी मध्यावधि निर्वाचनको परिणामको स्वागत गर्नुभएको छ । उहाँले ट्रम्प सैन्य र राजनीतिक दुवै क्षेत्रमा पराजित भएको टिप्पणी गर्दै उहाँलाई थप पराजित गराउने बताउनुभएको छ ।
युद्धको सुरुवातमा अमेरिका र इजरायलले गरेको आक्रमणमा आफ्ना पिता तथा तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि मोजताबा खामेनीलाई इरानको सर्वोच्च नेता नियुक्त गरिएको थियो ।