पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
युरोपकै ठूलो मध्ययुगीन खुला बजार क्षेत्रमध्ये एक मानिने क्राको पर्यटकहरूको प्रमुख आकर्षण मानिन्छ । स्थानीय समयअनुसार दिउँसो करिब ३ बजेतिर आक्रमण सुरु हुँदा उक्त क्षेत्रमा ठूलो संख्यामा मानिसहरूको आवतजावत थियो । प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका थिए । सूचना पाएलगत्तै सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी र आक्रमणकारीबीच पनि गोली हानाहान भएको थियो । आक्रमण सुरु भएको तीन मिनेटभित्रै प्रहरीले उनलाई गोली हालेर नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् । घटनामा संलग्न ती युवकलाई गोली लागेकाले उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको भिडियोमा प्रहरी र ती युवकबीच पटकपटक गोली हानाहान भएको तथा एक प्रहरी घाइते भएर भुइँमा ढलेको दृश्य देखिएको छ । आक्रमणका क्रममा एउटा सार्वजनिक गाडीमा समेत गोली लागेर सिसा फुटे पनि त्यसमा सवार यात्रुहरूलाई भने कुनै क्षति नभएको बीबीसीले उल्लेख गरेको छ । आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीलाई तीनवटा गोली लागेको र उनको अवस्था अत्यन्तै गम्भीर रहेको छ । गोली प्रहारबाट आसपासका पसलका सिसा फुटेका छन् भने सडकमा सिसाका टुक्रा छरिएका छन् । घटनापछि नगर प्रशासनले स्थानीय बासिन्दा र पर्यटकलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।
पोल्यान्डका अधिकारीहरूले घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकमध्ये एक जना बेलायती नागरिक र तीन जना पोल्यान्डका नागरिक रहेको खुलेको छ भने अन्य दुई जनाको पहिचान खुलाइएको छैन । घटनामा घाइते भएका १६ जनालाई अस्पताल लगिएको छ, जसमा पाँच जना विदेशी नागरिक, दुई जना प्रहरी अधिकारी र आक्रमणकारीसमेत रहेका छन् । घाइतेहरू अस्ट्रिया, बेलायत, जर्मनी, पोर्चुगल र रुसका नागरिक रहेको पोल्यान्डको गृह मन्त्रालयले जनाएको छ ।
यसैबीच, घटनास्थलबाट करिब दुई सय किलोमिटर टाढा रहेको ती युवकको घरमा खानतलासी गर्दा थप तीन जनाको शव फेला परेको प्रधानमन्त्री डोनाल्ड टस्कले बताएका छन् । ती शव दुई महिला र एक पुरुषका हुन् तर उनीहरूको मृत्युको यस घटनासँगको सम्बन्धबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रहरीले आक्रमणकारी २५ वर्षीय पोलिस नागरिक रहेको पुष्टि गरे पनि उनको नाम सार्वजनिक गरेको छैन । एक प्रवक्ताका अनुसार आक्रमणका बेला उनी सैनिक शैलीको पोसाकमा थिए र सैन्यस्तरको हतियार बोकेका थिए तर उनी सैनिक नभएको प्रहरीले स्पष्ट पारेको छ । उनले प्रयोग गरेको गाडीबाट ठूलो संख्यामा हतियार र गोलीगट्ठा बरामद भएको छ भने पोल्याण्डका सञ्चारमाध्यमहरूले उनीसँग बन्दुक राख्ने अनुमति रहेको र परिवारको घरबाट हतियार प्राप्त गरेको हुन सक्ने समाचार प्रकाशित गरेका छन् । प्रारम्भिक अनुसन्धानले आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित तथा ‘उग्र राष्ट्रवादी’ रहेको एक मन्त्रीले बताएका छन् । यद्यपि यस आक्रमणको वास्तविक उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ ।