एजेन्सी फागुण २५ । रुस र युक्रेनबीच युद्ध शुरु भएको १४ दिन पुगेको छ । यस बीचमा रुसले युक्रेनको २६ सय सैन्य संरचना ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनले १२ हजार रुसी सेना मारेको र संँयौ टैंक, हेलिकप्टर, लडाकु विमान नष्ट पारेको दाबी गरेको छ ।
यस बीचमा ४ सय बढी सर्वसाधारणको युद्धका क्रममा मृत्यु भईसकेको छ ।
यो युद्धमा रुसले खेरसन, चेर्निबील न्युक्लियर प्लान्ट, लगायत विभिन्न शहर र संयन्त्रहरु नियन्त्रणमा लिएर खारकिभ र किभलाई घेराबन्दी गरेको छ । तीन चरण सम्म भएको वार्तामा कुनै सहमति नभए पनि दुबै देशका बिदेशमन्त्रीबीच आगामी १० मार्चमा टर्कीमा बार्ता हुने भएको छ ।
यता, कमेडियनबाट राष्ट्रपति बनेका भोलोदिमोर जेलेन्सकीले रुस विरुद्धको युद्धमा पश्चिमा देशहरुले झुट्टो आस्वासन दिएको भन्दै क्रुद्ध बनेका छन् । उनले बेलायती संसदमा बोल्दै अमेरीका र नेटोले यस अघि दिएको आस्वासन पूरा नभएको भन्दै आक्रोश पोखेका हुन् ।
युद्ध शुरु हुनु अघि रुसले युक्रेनमा आक्रमण गर्न लागेको र त्यसको गंभीर परिणाम हुने भन्दै चेतावनी दिएका नेटो र अमेरीकाले अहिले नो फ्लाई जोन लागू गर्न अस्वीकार गर्दा जेलेन्सकी क्रुद्ध बनेका हुन् ।
युद्धमा मारिएका मान्छेहरुको जिम्मेवारी पश्चिमाहरुले समेत लिनु पर्ने जेलेन्सकीको आरोप छ ।
अमेरीकाले यो युद्ध युक्रेन आफैले लड्नु पर्ने भन्दै सेना पठाउन अस्वीकार गरेका छन् । साथै मंगलबार पोल्याण्डबाट युक्रेनलाई लडाकु विमान पठाउने प्रस्ताव पनि अमेरीकाले अस्वीकार गरिदिएको छ ।
अहिले नेटो र अमेरीकाले युक्रेनलाई हतियार दिए पनि लडाकु विमान दिन अस्वीकार गरेका छन् । यसले सिधै नेटो र रुसबीच युद्ध हुने र त्यसले विश्व युद्धको रुप लिने त्रासमा पश्चिमाहरुले उक्त कदम चाल्न सकेका छैनन् ।