रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले पूर्व सोभियत संघ सदस्य राष्ट्र युक्रेन र बेलारुसलाई गाभेर युनियन स्टेट बनाउने खतरनाक योजना बनाएको जर्मन सञ्चार माध्यमले दावी गरेका छन् ।
सो रिपोर्ट अनुसार सबै भन्दा पहिला युक्रेनमाथि हमला गरेर कब्जा गर्ने, बेलारुसलाई सहमतिमा लिने र मस्कोमा यसको केन्द्र रहने गरी संघ राज्य बनाउने पुटिनको योजना रहेको छ ।
बिल्डले विदेशी उच्च स्रोतलाई उद्धृत गर्दै लेखे अनुसार सबै भन्दा पहिला पश्चिमा समर्थक युक्रेनी सरकार र संसदलाई अपदस्त गरिनेछ, रुसी सेनाले कब्जा गरेका शहरहरुमा नयाँ सरकार गठन गर्दै जाने रुस विरोधी नेता कार्यकर्तालाई जेल हाल्ने, जस्ता योजना रहेको छ ।
हालैका दिनमा रुसले युक्रेनलाई चारै तिरबाट घेराउ गरेको छ । रुसी सेनाको ठूलो संख्याले १० हजार किलो मिटर क्षेत्रमा फैलिएर युक्रेनलाई घेराबन्दी गरेको हो ।
रुसी सेनाले यही फेब्रुअरी नभए मार्चमा हिँउ कम भएपछि हमला गर्न सक्ने अमेरीकी गुप्तचर अधिकारीहरुको दाबी छ ।
तर रुसले युक्रेनको बहानामा पश्चिमा देशहरले घेराबन्दी गर्न र युद्धमा होम्न खोजेको भन्दै आपत्ति जनाउदै आएको छ ।