युक्रेन मामलामा युद्धउन्मुख स्थिति पैदा भएको र अमेरीका सहित पश्चिमा देशहरुले घेराबन्दी गरीरहेका बेला रुसले विश्वकै सबै भन्दा ठूलो परमाणु पनडुब्बी तयार भएको जनाएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार सन् २०२२ भित्रै नौसेनामा सामेल हुन सक्नेछ ।
६०४ फिट लामो यो सबमरिनले एउटा सानो आकारको सबमरिन र ड्रोन विमान बोक्न सक्छ । १४ हजार ७०० टन वजन भएको यो सबमरिनले दुई मेघाटन वजनको परमाणु बम प्रहार गर्न सक्छ ।
जुन बम हिरोसिमामा १९४५ मा अमेरीकाले प्रहार गरेको बम भन्दा १३० गुणा ठूलो हो ।
परमाणु उर्जाबाट चल्ने यो सबमरिन एशिया प्रशान्त महासागर स्थित रुसी सैन्य अड्डामा तैनाथ गरिने बताईएको छ । यसले समुन्द्री ईन्टरनेट केबलको तार काटेर विभिन्न देशको सञ्चार सम्पर्क बिच्छेद गरिदिन सक्छ ।
संसारको कुनै पनि शहरलाई क्षणभरमै तहस नहस बनाउन सक्छ । यसलाई दुष्मनको कुनै पनि सबमरिनले पिछा गर्न र हमला गर्न लगभग असंभव छ । यो सोभियत संघको विघटन पछि अहिले शक्तिमा आँउदै गर्दा रुसले तयार पारेको सबै भन्दा महाविनाशक हतियार भएको बताईएको छ ।
यो सबमरिन अमेरीकासँग सैन्य टकराबको स्थितिमा रुसले प्रयोग गर्न सक्ने आंकलन गरिएको छ ।