ईजरायलका लागि एक हजार जना कामदारहरुको लागि लिईएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक भएको छ ।
सोमबार दिउँसो लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो।
लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन्।
उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन्। भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ।
अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ।
असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौल परीक्षण हुनेछ। उचाइ र तौल परीक्षणमा उत्तीर्ण हुनेको असोज ४ गतेदेखि ९ गतेसम्म व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा अन्तार्वार्ता हुनेछ। अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ।
दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ। इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ।
इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ। इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो। उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाइ टिकटलगायतका खर्च आफैँ व्यहोर्नुपर्नेछ। तपाईको रोल नंम्बरका आधारमा उत्तीर्ण भए नभएको यहाँ हेर्नुहोस् ।
https://www.mirmireonline.com/wp-content/uploads/2021/09/Written-Result.pdf