आधा शताब्दीअघिको कुरा हो— रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी माटाको भर ढुङ्गो र ढुङ्गाको भर माटो थिए । रामनाथ दाइ झापामा कहलिएका धनी थिए । त्यसै बेला रामनाथ दाइको अट्ठाइस बिघा जग्गा थियो । उनको ‘रामनाथ दाहाल राइस मिल’ नाउँको धान कुट्ने व्यापारिक कारखाना पनि थियो । साथै उनको एउटा रसियन जिप पनि थियो । त्यति बेला झापा जिल्लामा ठाँटसँग हिँड्नेमध्ये रामनाथ दाइ पनि एक जना थिए ।
रामनाथ दाइ सम्पन्न भएर पनि गरिब र दुःखीको हेरचाह गर्थे । उनका घर, मिल र खुर्सानीबारीमा प्रायः सतार जातिका कामदार हुन्थे । मालिक र कामदारका बारेमा बाहिरका मान्छे झुक्किन्थे । भनौँ, त्यहाँ मालिक काम गर्ने हुन् या कामदार मालिक हुन् भनेर झट्ट अड्कल काट्न सकिँदैनथ्यो । वास्तवमा धनी भएर पनि उनको विचार साम्यवादी धारामा ढल्किरहेको अवस्थामा थियो ।
रामनाथ दाइका घरमा भात खानेहरूका लागि समान रूपको खाना पाक्थ्यो । त्यस घरमा एक पल्टमा दसपन्ध्र जनाजति पाहुनाका लागि भात पाक्थ्यो । मैले पनि धेरै चोटि मेरी सानीमाका घरमा भात खाएको थिएँ । त्यस घरमा गएपिच्छे मैले रामनाथ दाइको अर्ति उपदेश पाउने गर्थें । त्यसै बेला मैले शिव दाइ, मोहनचन्द्र अधिकारी दाइ र खड्गप्रसाद वली दाइलाई पनि त्यहीँ भेटेको थिएँ । त्यस बेलासम्म पनि खड्गप्रसाद दाइको नाउँचाहिँ ध्रुव वली थियो । त्यति बेला उनी रामनाथ दाइकै संरक्षणमा थिए । अनि उनी रामनाथ दाइकै घरमा बसेर पढेका थिए । त्यहीँ बसेपछि प्रशासनका आँखाबाट जोगाउन शिव दाइ, रामनाथ दाइ र यूके दाइका सल्लाहले उनको नाउँ पनि फेरिएको थियो, अर्थात् उनी ध्रुव वलीबाट खड्गप्रसाद शर्मा वली भएका थिए ।
रामनाथ दाइसँगको सङ्गतमा परेपछि खड्गप्रसाद दाइ पनि क्रान्तिकारी हुन थालेका थिए । त्यसैले वाम राजनीतिक विरोधीहरू उनीसँग पनि क्रुद्धै थिए । उदाहरणका लागि भन्ने हो भने उनी कहिले प्रशासन, कहिले काङ्ग्रेस र कहिले पञ्चबाट धेरै पल्ट लखेटिएका थिए र मृत्युका मुखबाट पनि उम्केका थिए । खड्गप्रसादका गुरु जयप्रसाद यूकेका अनुसार— ‘आठराईमा खड्गप्रसाद र तुलसी दाहाललाई शेरबहादुर इङनामहरूले मार्ने अभिप्राय नै राखेका थिए । त्यही सिलसिलामा चोप्पुरबाट भदौरे जाने क्रममा एक दिन उनीहरूलाई घेराउ पनि गरिएको थियो । तर त्यो जालबाट फुस्केर उनीहरू हठात् भागेका थिए । खड्गप्रसाद हाम फाल्ने क्रममा तमोर नदीमा डुबेर मरेको अड्कलमा इङनामहरू ढुक्क थिए । त्यतिखेर खड्गप्रसाद मरिसके भन्ने आठराईमा खुबै ठूलो हल्ला चलेको थियो । तर उनीहरूचाहिँ त्यताबाट सोझै झापातिर हान्निएका थिए ।’ तिनै इङनामचाहिँ पछिल्ला दिनमा पञ्चाङ्ग्रेसको सहयोगमा तेह्रथुमबाट राष्ट्रिय पञ्चायतका माननीय सदस्य पनि चुनिएका थिए ।
………………
शिव दाइ जनउत्थानका लागि लड्दै, पढ्दै झापा छिरेका थिए । त्यतिन्जेलसम्ममा रामनाथ दाइको प्रवृत्तिको शिव दाइ भक्त नै भइसकेका थिए । शिव दाइले चारपाने बसेदेखि नै राधाकृष्ण मैनाली र रामनाथ दाहालको पनि घनिष्टता देखेका थिए । राधाकृष्ण र चन्द्रप्रकाश मैनाली पनि धनी बाबुका क्रान्तिकारी छोरा थिए । चन्द्रप्रकाश अथवा सीपी मैनालीचाहिँ सानैदेखि बौद्धिक, तार्किक र दार्शनिक थिए । साथै उनी निश्वार्थ रुपमा दलित, गरिव र पीडितरूको हीतका लागि उभिन्थे । त्यसैले रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटीलाई उनको साथले आफ्ना योजना अघि सार्न सजिलो भएको थियो । त्यतिखेरकै सन्दर्भ हो— मैले देख्ता मोहनचन्द्र अधिकारी ठूलो, लामो खुकुरी भिरेर हिँड्थे । मानौँ, त्यतिखेर उनी राज्यका एक नम्बरका क्रान्तिकारी महारथी थिए ।
रामनाथ दाइ र शिव दाइको भावना, रुचि र मान्छेप्रतिको दृष्टिकोण नै अरूको भन्दा फरक थियो । साथै उनीहरू पञ्चायत व्यवस्थाका विरोधी थिए । उनीहरू राज्यव्यवस्थाबाट निर्मित या राज्यको कानुन मानेर बनाइएका जुनसुकै कृत्यलाई पनि बुर्जुवा प्रणालीको द्योतक भन्थे । उनीहरूको त्यस्तै दृष्टिकोणका कारणले देवीप्रसाद उप्रेतीले स्थापना गरेको घैलाडुब्बाको आदर्श विद्यामन्दिको पुस्तकालयमा समेत आगो लगाउने यी दुवै भाइको योजना थियो । त्यतिखेरका विद्यार्थी रामप्रसाद उप्रेतीलाई शिवाकोटी र दाहाल भन्ने गर्थे— ‘रामू ! तिम्रो जिम्मामा स्कुलको पुस्तकालयमा आगो लगाउने परेको छ । बुर्जुवा शिक्षाको हामीले नामोनिसान राख्न हुँदैन ।’ तर रामप्रसाद उप्रेतीबाट त्यो काम सम्पन्न हुन सकेको थिएन । पछिल्ला दिनको कुरा गर्ने हो भने डा.उप्रेती त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र महाराजगञ्ज मेडिकल कलेजका प्रिन्सिपलसमेत भएका थिए ।
२०२६ सालतिरको कुरा हो— त्यतिखेर झापाको चारपानेमा शिवप्रसाद शिवाकोटी, रामनाथ दाहाल, राधाकृष्ण मैनाली, सीपी मैनाली, ईश्वरीप्रसाद उप्रेती र जयप्रसाद यूके भएर माक्र्सवाद, लेनिनवाद, माओविचारधारा अध्ययन कमिटी खोलेका थिए । त्यस कमिटीमा विद्यार्थीपट्टिका प्रमुख कार्यकर्ताका रूपमा खड्गप्रसाद वली र रामप्रसाद उप्रेती सक्रिय थिए । त्यतिखेर भूमिगत रूपमा घरघरमा कम्युनिस्ट साहित्य पुर्याइने गरिन्थ्यो । त्यो संस्था खूब प्रचारमा आएको पनि थियो । त्यतिखेरै यूकेले किसानमूलक साहित्यिक पत्रिका ‘झम्पल’ चलाउन सक्रियता देखाएका थिए । ‘झम्पल’मा साथ दिने अर्का योद्धा यज्ञराज प्रसाई पनि थिए । साथै ‘झम्पल’ सञ्चालनमा सीपी मैनालीको पश्र्व भूमिका गहिरो भएको बेहोरा यूके कहने गर्छन । त्यसै बेला मोहनचन्द्र अधिकारीचाहिँ मेचीकोसी माक्र्सवाद, लेनिनवाद र माओवाद विचारधाराका संयोजक थिए । उनी ज्ञानज्ञुनका पनि भण्डार थिए । त्यस भेकमा उनी नामी पनि राजनीतिज्ञमा गणना हुन्थे ।
‘होचिमिह्नले लेखेको ‘म लेनिनवादबाट कसरी प्रभावित भएँ’ अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेर यूकेले ‘झम्पल’ पत्रिकामा छापेका थिए । अनि त्यसै लेखका कारण त्यो पत्रिका कम्युनिस्टकै रहेछ भन्ने स्थानीय प्रशासनलाई ठाडो प्रभाव परेको थियो । त्यस पत्रिका प्रकाशनमा रुद्र खरेलको पनि गतिलो भूमिका थियो । त्यतिखेर त्यस प्रकारको पत्रिका निकाल्नेले धेरै ठूलो हण्डर बेहोर्नु पर्थ्यो ।
‘झम्पल’काण्डमा २०२७ सालमा यूके प्रकाउ परेर झापामा थुनिए । यूके थुनामा परेपछि शिव दाइ, रामनाथ दाइ र सीपी दाइहरू पनि प्रशासनबाट सशङ्कित हुन थालेका थिए । अनि यूके चाहिँ नौ महिनासम्म जेलको हावा खाएर निस्केका थिए । उनका बुबा खगेश्वर उप्रेती चारपाने गाउँ पञ्चायतका उपप्रधानपञ्च भएकाले अनेक तरिका अपनाएर उनीलाई जेलबाट मुक्त गराइएको थियो । मेरा कान्छा मामा खगेश्वर उप्रेतीचाहिँ प्रशासनको नजिक पनि थिए । उनी कम्युनिस्टका घोर विरोधी थिए । त्यसैले यूके भन्ने गर्थे— ‘मेरा बाबै बोक्सी पनि आफैँ हुन्थे र झाँक्री पनि आफैँ हुन्थे ।’ त्यही कारणले रामनाथ दाइ र शिव दाइ पनि आफ्ना मामा खगेश्वर उप्रेतीसँग डराउने गर्थे ।
यूके भन्नु रामनाथ दाइ र शिव दाइका बौद्धिक खुराक थिए । रामनाथ दाइ पनि सङ्गीतप्रेमी भएकाले यूकेबिना उनलाई हुँदैनथ्यो । यूके आफैँ गीत लेख्तै, हार्मोनियम बजाउँदै गीत गाउने गर्थे । यूकेका सन्दर्भमा कुरा उठ्ता मैले मेरो जीवनीकृति ‘रोहितको आकृति’ (२०६९ : पृ.३३) मा लेखेको थिएँ:
‘झुकाई हिमाल झुक्तैन
ताकेर सगर खस्तैन
नेपाली रगत बगेको
टिस्टाको पानी सुक्तैन ।’
२०३२ सालतिरको कुरा हो, जयप्रसाद यूकेले स्वनिर्वासित भएका बखत बनारसमा ‘झुकाई हिमाल झुक्तैन’ भन्ने गीत प्रायः गाइरहन्थे । त्यति बेलाको यूकेको गीत त्यहाँको नेपाली विद्यार्थी र राजनीतिज्ञमाझ लोकप्रिय पनि थियो । रोहितको पनि त्यस गीतप्रति झुकाउ थियो र नै ‘जनताको साहित्य’ले त्यस गीतलाई स्थान दिएको थियो । त्यही सिर्जनात्मक सम्बन्धका कारणले पनि यूके रोहितको राष्ट्रवादी चिन्तनसँग प्रभावित थिए । अनि त्यति बेला म पनि त्यस गीतसँग नजिक थिएँ । अरूहरूझैँ यूकेले २०२७-०२८ को झापाको किसान आन्दोलन खेपेका थिए । त्यही आन्दोलनको भासबाट उम्केर मचाहिँ काठमाडौँ छिरेको थिएँ । तिनै यूके मेरो साहित्यिक धारका चिन्तक र सल्लाहकार पनि भए ।’
मेरा दाइ यूके पुर्वाञ्चलीय कम्युनिस्टहरूका लागि बौद्धिक सल्लाहकार मानिन्थे । अनि शिव दाइ र रामनाथ दाइले यूके सकेसम्म आफूहरूबाट पर भएको हेर्न चाहँदैन थिए । अनि उनीहरूको जमघट भएपछि प्रायः ‘झुकाई हिमाल झुक्तैन’ भनेर गीत गाउन थालिहाल्थे । यो गीत उनीहरूको एक प्रकारको स्लोगान नै थियो । उनी गीतसङ्गीतका खुबै पारखी पनि थिए ।
त्यतिखेर बुर्जुवाहरूबाट उत्पादित धान लुट्नेदेखि गाउँका शोषक, जाली, फटाहाहरूसम्मका दाइँ सकिँदानसकिँदै धान लुटेर गरिबका ढिकुटी भर्न शिव दाइ र रामनाथ दाइले आफ्ना कार्यकर्तालाई अह्राउने गर्थे । त्यतिखेर खमार लुट्ने अभियान नै थियो । धान लुट्ने काममा कम्युनिस्ट कार्यकर्ताहरू अग्रसर भइरहन्थे । त्यति बेला खड्गप्रसाद वलीचाहिँ लिखुरे र सिकुटे भएको हुँदा उनलाई भारी बोक्ने काम दिइँदैनथ्यो । प्रा.डा.रामप्रसाद उप्रेतीका अनुसार— ‘खड्गप्रसाद दाइका जिम्मामा सिटी फुक्ने काम हुन्थ्यो । खड्गप्रसाद दाइले सिटी फुकेपछि परबाट कोही मान्छे आउँदै गरेको सङ्केत अरूहरू भारी बोक्ने कमरेडले चाल पाउने गर्थे र त्यहीअनुसार आफूहरूलाई परिचालन गर्थे । खड्गप्रसाद दाइ आफ्नो चोर औँला मुखमा लगेर सिटी बजाउन सिपालु थिए । त्यस बेला हामी उनलाई सिटी भन्ने गर्थ्यौँ ।
२०२६ सालपछि शिव दाइ, रामनाथ दाइ, यूके दाइ, मोहनचन्द्र दाइ, राधाकृष्ण दाइ, चन्द्रप्रकाश दाइ, खड्गप्रसाद दाइ, रुद्र खरेल दाइलगायत, तिलविक्रम ढकाल, नारायण शिवाकोटी, हरिचरण शिवाकोटी, मङ्गलसिंह सुनुवार, धर्म घिमिरे, तुलसी सिलवाल, शेरबहादुर निरौला, हर्क खड्का, षडानन्द वाग्ले, नारद भारद्वाज, नरेश खरेल, नरेश शाक्य, सूर्य कन्दङ्वा, नेत्र घिमिरे, वीरेन राजवंशी आदि वामपन्थी योद्धाहरू झापा किसानहरूको हित, मर्यादा र जागरणका लागि खुबै सक्रिय हुन थालेका थिए । त्यसैले त्यस ठाउँमा उनीहरूका लागि दिउँसै माटोमाथि हिँड्न पनि त्यति सजिलोचाहिँ थिएन ।
‘शिवप्रसाद शिवाकोटीको जीवनी− ४ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीको व्यापार र खेतीपाती’ पढ्नुहोला ।