झापा विद्रोहको साक्षी ‘म’ र मेरी आमाका भक्त ‘शिव दाइ’

झापा विद्रोहको साक्षी ‘म’ र मेरी आमाका भक्त ‘शिव दाइ’

मैले शिवप्रसाद शिवाकोटीको जीवनी किन लेखेँ ?

  • शनिबार, बैशाख ११, २०७८
  • • नरेन्द्रराज प्रसाई

  • 18.4K
    SHARES

शिवप्रसाद शिवाकोटीको नाउँ लिने वितिक्कै म आफ्नो किशोर वयमा फर्कने गर्छु । त्यतिखेर उनको अनुहार देख्नेवित्तिकै हामीलाई जोस, जाँगर र उत्साह पलाउने गर्थ्यो। त्यतिमात्र होइन उनको साथ, निर्देशन र संरक्षणका कारण हामी उनका कार्यकर्ताको हिम्मत नै बढ्ने गर्थ्यो । त्यतिखेर हामीलाई उनी माओ त्सेतुङको रातो कितापको प्रमुख पात्रझैँ लाग्थ्यो । त्यसैले हामी निर्धक्कसँग शत्रुसँग जुद्न अगाडि सर्थौ ।

अहिले आएर झापाका ती दिनहरूको मलाई माया लाग्छ । जीवन बाँच्तै जाँदा एउटा मान्छेले अनेक अवस्था भोग्नु पर्ने रहेछ भन्ने पाठ मैले ताप्लेजुङको हाङपाङदेखि झापाको सालबारीसम्म र काठमाडौँका चिसाताता समयको विगतको सम्झनामा म अहिले फेरि घोत्लिरहेको नै छु । मेरा लागि झापा आन्दोलन एउटा विशाल पुस्तकालय थियो । त्यस बेलाको मेरो योग्यता, क्षमता र त्याग जेजस्तो भए तापनि ती दिनहरूकै अझै मलाई माया लाग्ने गर्छ । त्यति बेलाको त्यो झापा विद्रोहको कृत्य चाहे आवश्यक थियो र चाहे अनावश्यक थियो, जे भए पनि त्यस बखत झापा विद्रोहसँग मेरो अगाध प्रेमचाहिँ थियो । किनभने त्यो कहालीलाग्दो यात्रामा मेरो तन र मन गाँसिएको थियो ।

झापा आन्दोलनका बारेमा यथार्थ चित्रण कुनै पनि इतिहासका किताबमा लेखिएको देखिएन । सुनेका भरमा, हल्लाका भरमा र गफका भरमा त्यसबारेको फाट्टफुट्ट कथनचाहिँ घटिबडि नदेखिएको पनि होइन । सत्य कुरा के हो भने काटमारको बाहेक झापा विद्रोहको खासै इतिहासचाहिँ बाहिर आएको थिएन । अनि झापा विद्रोहका एक जना नायक शिवप्रसाद शिवाकोटीबारेको सङ्क्षिप्त बेहोराचाहिँ मेरी आमा भागीरथा प्रसाईले नै सर्वप्रथम सङ्खनाद गरेकी थिइन् । मेरी आमाका ती संवाद मेरी गुरुदेवी इन्दिरा प्रसाईकृत ‘मेरी सासू’ (२०६५) मा प्रकाशित छ ।

पछिल्ला समयमा शिवप्रसाद शिवाकोटीबारेको स्मृति ग्रन्थ अथवा भनौँ ‘झापा विद्रोहका कमाण्डर : शिवप्रसाद शिवाकोटी’मा उनीबारे केहीले खुलस्थ रुपमा र जनहरूद्वारा जिब्रो चपाएर लेखिएको पनि देखियो । जानीनजानी रूपमा जतिले जेजस्तो किसिमको डम्फू बजाए तापनि त्यसभित्र पनि शिव दाइको बिम्बहरू अएको देखिन्छ नै ! खडेरी परेका बेला एक झर पानीको पनि कति महत्त्व हुन्छ ? शिव दाइका प्रसङ्गमा जजसले जेजे लेखे पनि त्यसको अति ठूलो मूल्य भएको मैले महसुस गरेको छु । यतिहुँदाहुँदै पनि झापा विद्रोहको सम्पूर्ण भ्रूणको साक्षीचाहिँ दधिराम उप्रेती, खड्गप्रसाद दाहाल र म (नरेन्द्रराज प्रसाई) नै थियौँ । हामी तीनमध्ये पनि मुख्य साक्षीका रूपमा दाहाल र उप्रेती मात्र थिए । तर उनीहरू दुई जना पछाडि तेस्रो नम्बको एक जना साक्षी म पनि थिएँ भन्न रुचाउछु ।

झापा विद्रोहका नायक शिवप्रसाद शिवाकोटीको घरभन्दा, भावनाभन्दा र दृष्टिकोणभन्दा म केही अलग्गै पनि थिएँ । खड्ग दाहाल र दधिराम उप्रेती शिव दाइकै दायाँबायाँ थिए र उनीहरू शिवकृष्णा गृहकै सदस्य पनि थिए । शिव दाइका नातामा दाहाल साला र उप्रेती मावली भाइ भएकाले पनि शिव दाइ उनीहरूका संरक्षक थिए र उनीहरू शिव दाइप्रति पूर्ण रुपमा बफादार र निष्ठावादी थिए । शिव दाइका मनमा आएको सैद्धान्तिक र व्यवहारिक बेहोरा प्रायः ती दुई भाइले तुरुन्तै चाल पाउँथे । अनि उनीहरूबाट मेरा कानमा आएका कुरा अतिरिक्त शिव दाइबाट समेत प्रदत्त कुरा म ग्रहण गर्थें । साथै शिव दाइले बेलाबखत मेरी आमा भागीरथा प्रसाई र मेरा माझमा आफ्नो मन पेट खोल्ने गर्थे । शिव दाइ मेरी आमाका भक्त थिए । उनले शायद आफ्नी आमा पछाडि मेरी आमा र रामनाथ दाहालकी आमालाई नै श्रद्धा गर्थे । यी दुवै आमा नातामा उनका सानिमा पनि पर्थे ।

झापा विद्रोहको इतिहास रच्ने काम नै शिवप्रसाद शिवाकोटीले गरेका थिए । तर त्यस विद्रोहलाई उकास्ने, पछार्ने र बढाउने कृत्यको भाग चाहिँ झापा जिल्ला प्रशासनलाई पनि लागेको थियो । प्रशासनले एउटा झिल्कोलाई निभाउनको सट्टा त्यसैलाई डँडेलो बनाउने काम गरेको थियो । तर जे भए तापनि त्यो विद्रोहचाहिँ पछिल्ला दिनसम्म बीउविजनका रूपमा स्थापित भइ नै रह्यो । त्यसैको प्रत्यक्ष परिणाम नै अहिलेसम्म पनि नेपालको राजनीतिमा देखा परिरहेको छ । ‘झापा विद्रोह नेपाली राजनीतिक इतिहासमा एउटा कोशे ढुङ्गा भएको’ बेहोरा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै घोषणा गरेका थिए । नेपालमा गणतन्त्र ल्याउने प्रमुख पात्र प्रचण्डले झापा विद्रोहबारे भनेका थिए— ‘शहीदले सुखानीमा गरेको बलिदानकै जगमा आजको परिवर्तन सम्भव भएको हो ।’

शिवप्रसाद शिवाकोटी एक जना होनहार क्रान्तिकारी थिए । उनको जनप्रेमका कारण उनी झापा विद्रोहको नायकमा नै पनि स्थापित भए । उनी व्यक्तिगत स्वार्थभन्दा माथि उठेका कम्युनिस्ट नेता थिए । त्यसैले झापा विद्रोह भएको आधा शताब्दीपछि पनि उनैको चर्चा, परिचर्चा र टीकाटिप्पणी हामीले लेख्नुपरेको छ । वास्तवमा झापा विद्रोहले थर्काएको कम्पनको अनुकम्पन नेपाली आकाशमा अहिलेसम्म पनि चलिरहेकै हो । त्यस बेलाका त्यस रौनकले कति उचाइ लिएको थियो भन्नुको प्रमाण पचास वर्षपछिसम्म पनि शिव दाइको लेखा जोखा गर्नुपरिरहेकै छ । उदाहरणका लागि भन्ने हो भने महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीसमेतले पनि ‘शिवप्रसाद शिवाकोटी र रामनाथ दाहाल झापा आन्दोलनका अगुवा’ भनेर लेखेका छन् । त्रिपाठी भन्नु राजनीतिसँग प्रतक्ष मलकाज नभएका अमरप्राज्ञ हुन् । त्यस बेलाको त्यो साक्ष्य नबिलाओस् भनेरै मैले पनि ‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’को इतिहास सम्बन्धी लेख लेखेँ र सो लेख डा.नारदनाथ भारद्वाज र सोमनाथ दाहालको सम्पादनमा शिवकृष्णा युवा फाउन्डेसनले प्रकाशनमा ल्याएको थियो । अनि त्यस किताबको नाउँ ‘शिवप्रसाद शिवाकोटी : झापा विद्रोहका कमाण्डर’ (२०७७) राखियो । त्यस कृतिमा भएका अन्य केही गुदीलाई समेत निफनेर मैले यस कृतिमा पनि समावेश गराएको छु । जस्तै— मोहनचन्द्र अधिकारीदेखि माधवकुमार नेपालसम्मले शिव दाइ उपर कस्तो धारण राखे त ! उनीहरूका ती धारणामध्ये ‘बिम्ब’लाई केलाएर कर्कला माथिको पातमा पानीको थोपा राख्ता जसरी टल्कन्छ त्यस्ता बूँदाहरूचाहिँ मलाई छाड्न मन लागेन र यस कृतिभित्र पनि त्यस्ता मुख्य ठानिएका प्रसङ्गहरूसमेत प्रवेश गराएको छु ।

°°°

शिवप्रसाद शिवाकोटीकाबारे मैले लेख्नै पर्थ्यो । म उनको शिव सेनाको छेवैमा टाँसिसएर कार्य गरेको कमरेड र उनी हाम्रो घरपरिवारको स्थानीय संरक्षक भएका कारण आदि जोडिँदा र म लेखक र लेखकीय विधाअन्तर्गत पनि जीवनीकार पनि भएको नाताले मैले उनीबारे लेख्नै पर्थ्र्यो र लेखेँ । यो कृति मैले कम्युनिस्ट व्यवस्था राम्रो हो भन्ने मनसायले लेखेको चाहिँ होइन । तर एकातिर झापा विद्रोहको प्रारम्भमा मेरो ठाडो संलग्नता थियो र अर्कातिर शिव दाइबारे मेरो लेख्ने कामै हो भनेर नै मैले यो कृति लेखेँ । मानौँ यो कृति मेरो लेखकीय दायित्त्वभित्रै थियो ।

शिव दाइ हर बिहान प्रायः हाम्रा घरमा आएर एक कप चिया खाने गर्थे र हरेक साँझ हाम्रा घरमा नटेकी उनी आफ्ना घर फर्कंदैन थिए । उनी मीठो पारामा मेरी आमालाई सानिमा भन्थे, आश्वासन दिन्थे र भनेको पनि पुर्‍याउँथे । उनी मेरी आमाका भक्त थिए । अनि म उनको आज्ञाकारी कार्यकर्ता थिएँ । सालबारीजस्तो अनकन्टार ठाउँमा उनी नै हाम्रो परिवारको भरोसा थिए । त्यतिखेरको सालबारी कस्तो थियो र त्यहाँ हामी कसरी टिक्यौँ भन्ने कुरा मैले ‘मेरी आमा भागीरथा प्रसाई’ (२०७६) नामक जीवनीकृतिमा उल्लेख गरिसकेको नै छु ।

म काठमाडौँ आएको सत्य पनि शिवप्रसाद शिवाकोटीकै कारणले हो । झापामा जनहत्याको परियोजना बन्न थालेपछि मेरो कवि मनले त्यहाँ बस्न पटक्कै मानेन । अनि मलाई त्यहाँबाट डकोटा विमान चढाएर सुटुक्कै काठमाडौँतिर हुत्याइदिने मेरी आमा र दिदी नीरा सिटौला नै थिए । मेरी आमा र दिदीका कारणले नै म रातोरात काठमाडौँ भित्रिएको थिएँ । म आएको चार महिनामा नै बुटन चौधरीलाई मारेको सूचना पनि मैले मेरी आमामार्फतै सुनेको थिएँ ।

झापाबाट लालकिल्लाको एक चिम्टी माटो बोकेर म काठमाडौँ छिरेको थिएँ । काठमाडौँमा आएपछि मैले क्रमशः साहित्य पनि लेख्न थालेको थिएँ । अविरल मिहेनतका कारण त्यही माटोलाई मिसाएर मैले खेतको गरा समेत बनाउन सकेछु । अनि यसै खेतमा मैले शिव दाइलाई पनि फलाउन सकेछु । अर्थात् भनौँ ‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’ लेख्न पनि म सफल भएछु ।

°°°

‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’ लेख्न मलाई प्रेरित गर्ने मेरी गुरुदेवी इन्दिरा नै हुन् । अनि मेरो यस कृतिप्रति गौरव मान्ने मेरा छोराछोरी कञ्चनजङ्घा र अनुकृतिका नै प्रमुख पात्र हुन् । त्यति भनेर मात्र पुग्दैन शिव दाइका छोराद्वय मेरा प्रिय भतिजहरू भीष्मराज शर्मा र युवराज शर्माले पनि मलाई यो कृति अघि बढाउन प्रेरित गरिरहे ।

°°°

आगामी अङ्कमा ‘शिवप्रसाद शिवाकोटीको जीवनी− १ प्रकाशित हुनेछ ।

यो पनि

झापा विद्रोह के हो ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी