नेपाली जीवनी साहित्यका सिद्धहस्त स्रष्टा नरेन्द्रराज प्रसाई’द्वारा लिखित ‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’ आगामी शनिवारदेखि धारावाहिक प्रकाशित हुँदैछ ।
नरेन्द्रराज प्रसाईलाई झापा आन्दोलनको एउटा झिल्को भन्नु अतिशयोक्ति हुँदैन । तिनै झिल्कोबाट ‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’ जीवनीकृति प्रामाणिक रूपमा देखा पर्नु नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा थप हर्षको विषय हो । त्यतिखेर प्रहरीसँग नरेन्द्रको झडपका प्रसङ्गमा शिवप्रसाद शिवाकोटीले भनेको कुराको झापामा एउटा चर्चा थियो— ‘नरेन्द्रले चकमकबाट झिल्को निकालेछ । त्यस झिल्काले भोलिका दिनमा कस्तो नतिजा ल्याउला, हेरौं !’ पछि देखियो- झापा आन्दोलनको एउटा झिल्को सुखानीमा बेजोडसित वलिदानको बिस्फोटमा परिणत भयो, अर्को झिल्को नेपाल कम्युनिष्ट पार्टी (एमाले) बनेर पटकपटक प्रधानमन्त्रीको कुर्सीसम्म पुग्यो र तेस्रो झिल्को देशभक्तिपूर्ण आन्दोलनका लागि नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी-लेनिनवादी) बनेर देशमा क्रियाशील रही आयो ।
• सीपी मैनाली
महासचिव, नेपाली कम्युनिष्ट पार्टी (माले)
झापा विद्रोह भएको ५० वर्षपछि नरेन्द्रराज प्रसाईमार्फत मैले एउटा नौलो र अति आवश्यक ज्ञान पाएको छु । झापा विद्रोहका विषयमा मैले धेरै उत्सुकता राखेको थिएँ, तर झापाली साथीहरुले मलाई यसबारे यसरी कहिले केही भनेका थिएनन् । मलाई यति थाहा छ- ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मूल जरा २०२७ सालदेखि २०२९ साल (सालबारीदेखि सुखानी) सम्मको झापा सङ्घर्ष र विद्रोह नै हो ।’ नरेन्द्र भाइले त्यही प्रसङ्ग केलाई ‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’ लेखेर त्यसबारेको मेरो ज्ञानलाई परिपुष्ट बनाएका छन् । नरेन्द्र भाइको अक्षरमार्फत झापा आन्दोलनको त्यो इतिहासलाई साथीहरुले चिनुन्, बुझुन्, पढुन् र झापा विद्रोहका सन्दर्भमा अझै केही लेख्न बाँकी छ भने लेखुन् । यति हो, नरेन्द्र भाइले छोपिइसकेको त्यो गाथा हाम्रा सामुन्ने राखिदिएकाले अब झापा विद्रोहको इतिहास हरायो नै भनेर हामीले पछुताउनु पर्ने ठाउँ चाहिँ रहेन ।
• प्रदीप नेपाल
(नेपाल कम्युनिष्ट पार्टी एमालेका विशिष्ट चिन्तक, विचारक, नेता र पूर्वमन्त्री)
‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’ नेपाली कम्युनिष्ट आन्दोलनको यात्राका लागि एउटा साक्षात प्रमाणका रूपमा देखा परेको छ । यस कितापमा खोलिएका प्राग्घटनासमेतको आधारद्वारा पुष्पलालदेखि शिवप्रसाद शिवाकोटीसम्मको वामपन्थी इतिहासलाई केलाएर हेर्दा झापा विद्रोह नेपालको राजनीतिको एउटा अद्भुत र अलौकिक घटना साबित भएको छ । नरेन्द्रराज प्रसाईले गर्तमा पुरिएको झापा विद्रोहको घटनालाई लालकिल्लाको आलेखका रूपमा उजागर गरिदिएकाले शिवप्रसाद शिवाकोटीलाई इतिहासमा प्रष्ट रूपमा चिन्न र बुझ्न हामीलाई सहज भएको छ ।
• प्रा.डा.सुरेन्द्र केसी
नेपाली कम्युनिष्ट आन्दोलनविषयक प्रथम विद्यावारिधि
नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘झापा विद्रोहका एउटा नायक शिवप्रसाद शिवकोटी’ नाउँको जीवनीकृति पढेपछि म पूर्वस्मृतिमा पुगेछु । एक जना सिद्धहस्त जीवनीकार र झापा विद्रोहका किशोर लडाकुले अर्का एक जना लुकिसकेका, छोडिसकेका, हराइसकेका र बिर्सिन खोजिएका युगपुरुषको विषयको दस्तावेज पढ्दा मलाई धेरैजसो ठाउँमा शिवप्रसाद शिवाकोटी सँगसँगै भएको महसुस भयो । यो कृति पढेपछि मलाई लाग्यो— ‘यदि नरेन्द्रराज प्रसाईले झापा विद्रोहका एउटा नायक शिवप्रसाद शिवाकोटी’ नलेखिदिएको भए शिवाकोटीको यसरी जरादेखि हाँगा र हाँगादेखि टुप्पासम्मको जीवनवृत्त र सालबारीदेखि सुखानीसम्मको इतिहास अरूबाट प्रकट हुन सक्तैनथ्यो । नेपाली कम्युनिस्ट आन्दोलनको श्रृङ्खलामा प्रस्तुत कृति सुन भएको मेरो ठहर्याई छ ।
• जयप्रसाद यूके
झापा आन्दोलनका योद्धा र रामनाथ दाहाल र शिवप्रसाद शिवकोटीका बौद्धिक सल्लाहकार