२०१९ साल माघको कुरा हो— कमला शिवाकोटीसँग उनका छोराबुहारी शिवप्रसाद शिवाकोटी र कृष्णा सिवाकोटी इवाबाट पाँच दिन पैदल हिँडेपछि झापा पुगेका थिए । त्यहाँ उनीहरू सरासर चारपाने पुगेका थिए । चारपानेमा कमला शिवाकोटीकी बहिनी लक्षिमा दाहालको घर थियो । उनै लक्षिमा र उनका छोरा रामनाथ दाहालको आडमा शिवाकोटीहरू चारपानेमा नै बस्न थालेका थिए । चारपानेमा रामनाथ दाइको मूल घरछेउमा अर्को घर पनि थियो । त्यही घरमा शिव दाइका परिवार बस्ने गर्थे ।
रामनाथ दाहाल रामकान्त दाहालका एक्लो छोरा थिए । रामकान्त आठराईका नामी, धनी र दानवीरमा समेत नाउँ चलेका व्यक्ति थिए । रामकान्त दाहालकी तेस्री पत्नीको नाउँ लक्षिमा थियो । विवाह गरेको समयमा लक्षिमाको उमेर दस वर्ष थियो भने रामकान्त चालिस वर्षका थिए । यी दम्पतीको जोडी बाँधिदिने काम शिवप्रसाद शिवाकोटीका बाजे काशीनाथ शिवाकोटीले गरेका थिए । ती बाजेचाहिँ लक्षिमाका फुपाजु थिए ।
शिव दाइ शोषकलाई तर्साएर, कुटेर र भौतिक रूपबाट विसर्जन नै गरेर पनि काम गर्नुपर्छ भन्थे तर रामनाथ दाइ अनुपातिक रूपमा शान्त स्वभावका थिए । उनी भन्थे ‘मान्छेको ज्यान समाप्त पार्नु मात्र पनि सामधान होइन ।’
कमला शिवाकोटी, लक्षिमा दाहाल र मेरी आमा भागीरथा प्रसाई एउटै बाजेका नातिनी थिए । त्यसैले शिव दाइलाई रामनाथ दाहालका आडमा बसेर आफ्नो व्यवस्थापन गर्न सजिलो भएको थियो । त्यतिखेर रामनाथ आफ्नो पैतृक सम्पत्तिको समेत संरक्षण गर्दै ठाँटिलो पाराले चारपानेमा बसेका थिए ।
रामनाथ दाइ र शिव दाइको चाहिँ तेहेरो नाता थियो । उनीहरूका आमा र बुबासँगको बेग्लाबेग्लै दुईवटा नाता छँदै थियो । त्यसपछि रामनाथ दाइकै बहिनी पर्ने कृष्णा दाहालसँग शिव दाइले विवाह गरिसकेपछिको उनीहरूमाझ एकअर्कामा तेस्रो नातासमेत गाँसिएको थियो ।
रामनाथ दाइ शिव दाइभन्दा पाँच वर्षले जेठा थिए । तर पनि शिव दाइ र रामनाथ दाइ जोडा भएरै हिँड्थे । उनीहरू राजनीतिमा को ठूला थिए भनेर त्यतिखेर हामी भन्न सक्तैनथ्यौँ । किनभने उनीहरू जे काम गर्दा पनि दुवै एक भएर गर्थे । उनीहरू रथका दुई पाङ्ग्राजस्ता थिए । त्यसैले यी दुवै सँगै हिँड्थे, सँगै खान्थे र सँगै सभाहरू गरिरहन्थे । तीमध्ये पनि रामनाथ दाइ सिद्धान्तका कुरा गर्थे भने शिव दाइ सिद्धान्तलाई व्यवहारमा लागू गर्ने काम गर्थे ।
रामनाथ दाइ भन्ने गर्थे— ‘देशका सबै सामन्तका जग्गा बाँड्ने हो भने नेपालमा कोही पनि सुकुमबासी हुँदैनन् ।’ अनि उनको विचारमा बूढी औँठा थिच्ने र सिद्धान्तलाई जनमाझ पुर्याउने शिव दाइ नै हुन्थे ।
रामनाथ दाइ शिव दाइको प्रायः कुरा मिल्थ्यो, सिद्धान्त पूरै मिल्थ्यो र विचार पनि मजाले मिल्थ्यो । यति हो—शिव दाइ आक्रामक थिए भने रामनाथ दाइ नरम बोलीचालीका कुबेर थिए । शिव दाइ शोषकलाई तर्साएर, कुटेर र भौतिक रूपबाट विसर्जन नै गरेर पनि काम गर्नुपर्छ भन्थे तर रामनाथ दाइ अनुपातिक रूपमा शान्त स्वभावका थिए । उनी भन्थे ‘मान्छेको ज्यान समाप्त पार्नु मात्र पनि सामधान होइन ।’ शिव दाइ जुलुस, सभासम्मेलन र भाषणभूषणमा धेरै नै केन्द्रित हुन्थे भने रामनाथ दाइ सङ्गीतप्रेमी थिए । समय पाउनासाथ रामनाथ दाइ हार्मोनियम बजाएर गीत गाइरहन्थे । अनि उनलाई गीत गाएर बाजागाजामा साथ दिनेहरू शिवप्रसाद शिवाकोटी, जयप्रसाद यूके र रविलाल दर्नाल आदि हुन्थे । त्यति बेला रामगृहमा प्रायः गाइरहने गीत थियो—
धोइदेऊ न धोवी राजै
केको रङ्ग लाग्यो मलाई !
मेरा मावली र रामनाथ दाइ एक अर्काका छिमेकी थिए । त्यसैले मावली घर गएको बेला म पनि रामनाथ दाइका घरमा प्रायः जाने गर्थें । मैले देख्ता उनका हातमा सधैँ हार्मोनियम हुन्थ्यो । उनी घरमा प्रायः हार्मोनियमसँग पलेटी कसिरहेका हुन्थे । शिव दाइलाई पनि मैले प्रायः रामनाथ दाइका घरमा भेट्थेँ । त्यतिखेर त्यस ठाउँमा बौद्धिक मान्छे भनेका जयप्रसाद यूके थिए । त्यति बेला रामनाथ दाइ हार्मोनियम बजाउने, शिव दाइ मादल बजाउने र यूके दाइ गीत गाउने गर्थे । अनि यी तीनै जना गीत र कविता पनि लेख्थे । रामनाथ दाइ र यूके दाइचाहिँ बाँसुरी बजाउन पनि सिपालु थिए । यी तीनै जना जनपक्षीय राजनीतिमा पूणर् केन्द्रित थिए । तर पनि रामनाथ दाइ र यूके दाइ हातहतियारबिनै क्रान्ति गर्नुपछ्र्र भन्ने धारणा राख्थे । शिव दाइ भने चिनियाँ सांस्कृतिक क्रान्तिका कट्टर समर्थक थिए ।
शिव दाइ विद्रोही भएर झापा झरेको केही वर्षमा नै उनको सोचले उचाइ प्राप्त गरिसकेको थियो । तर पहाडैदेखि अङ्कुरित उनका परिकल्पनालाई व्यावहारिक परिचालन गर्न त्यति सजिलोचाहिँ थिएन ।
शिव दाइ, रामनाथ दाइ र यूके दाइको अर्को एक विषयमा पनि राम्ररी कुरा मिल्ने गथ्र्यो । त्यो कुरा के हो भने उनीहरू वसुधैव कुटुम्बकम्का हिमायती थिए । मानव जातिको रगत एउटै हुन्छ र एउटै रगतमा पनि किन भेद भन्ने पुरातन दृष्टिकोणउपर उनीहरूको प्रश्न हुन्थ्यो । त्यसैले ती तीन भाइ नै जातीय छुवाछुत र नीचउचका विरोधी थिए । उनीहरूले सुरुमा एकातिर शोषक, सामन्ती र जालीफटाहाहरूलाई तह लगाउने नीति अपनाएका थिए भने अर्कातिर जातीय छुवाछुतको विरोध गरेर झापामा आन्दोलन चलाएका थिए । अनि यसको ठाडो नेतृत्वचाहिँ रामनाथ दाइले नै गरेका थिए । उनी धनले सम्पन्न भएर पनि दलित र गरिबका विषयमा आवाज उठाउने विशिष्ठ योद्धा थिए । त्यति बेला जुनसुकै सभाहरूमा रामनाथ दाइ भन्ने गर्थे— ‘देशका सबै सामन्तका जग्गा बाँड्ने हो भने नेपालमा कोही पनि सुकुमबासी हुँदैनन् ।’ अनि उनको विचारमा बूढी औँठा थिच्ने र सिद्धान्तलाई जनमाझ पुर्याउने शिव दाइ नै हुन्थे । शिक्षक भएका कारणले यूके दाइ घरीघरी बाह्य गतिविधिमा त्यति देखिँदैन थिए । साथै उनी प्राज्ञिक पनि थिए । तर भित्रभित्रैचाहिँ उनी पनि आगो खाएर खरानी निकाल्ने योद्धा नै थिए ।
रामनाथ दाइ र शिव दाइ धेरैथोरै जेजस्तो भए पनि कम्युनिस्ट सिद्धान्तको उद्देश्य प्राप्तिका लागि उत्सर्गिक थिए । यही व्यवस्थाबाट मात्र नेपालको सर्वाङ्गीण विकास र जनताको कल्याण हुने कुरामा उनीहरू विश्वस्त थिए । शिव दाइ विद्रोही भएर झापा झरेको केही वर्षमा नै उनको सोचले उचाइ प्राप्त गरिसकेको थियो । तर पहाडैदेखि अङ्कुरित उनका परिकल्पनालाई व्यावहारिक परिचालन गर्न त्यति सजिलोचाहिँ थिएन । यति हुँदाहुँदै पनि रामनाथ दाइ होस्टे भन्थे र शिव दाइ हैँसे भन्ने गर्थे । होस्टे हैँसे ! होस्टे हैँसे ! यसरी नै झापामा उनीहरूको प्रारम्भिक दिन बितेको थियो ।
‘शिवप्रसाद शिवाकोटीको जीवनी− ३ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटी र रामनाथ दाहालको राजनीतियात्रा’ पढ्नुहोला ।