शिवप्रसाद शिवाकोटीको पूर्वीभूमि

शिवप्रसाद शिवाकोटीको पूर्वीभूमि

  • शनिबार, बैशाख १८, २०७८
  • नरेन्द्रराज प्रसाई

  • 11.7K
    SHARES

शिवप्रसाद शिवाकोटीका पुर्खाहरू तीन शताब्दीअघि दोलखाको सुनखानीबाट तेह्रथुमको आठराई इवामा पुगेका थिए । अनि उनीहरूले त्यतै आफ्नो कर्मभूमि बनाएका थिए । तर पनि उनीहरूको आर्थिक अवस्था सामान्य स्तरबाट माथि उक्लन सकेको चाहिँ थिएन । यति हुँदाहुँदै पनि वैकल्पिक स्रोत नहुनाले उनीहरूले आफुहरूलाई त्यहीँ नै जबरजस्ती उभ्याइरहेका थिए ।

शिवप्रसाद शिवाकोटीका बाजे काशीनाथ शिवाकोटीको आर्थिक कारणले घरगृहस्थी चाहेजस्तो अवस्थामा उठ्न सकेको थिएन । उनीहरूको दिनचर्या टुमटुमकै अवस्थामा मौजुद थियो । त्यसैले उनी कामको खोजीमा भारत या म्यान्मा जानेबारे घोत्लिएका थिए । त्यही सिलसिलामा उनी मुलुकबाहिर पलायन भएका थिए । अनि त्यतिखेर उनी त्यस बेलाको बर्मा पुगेका थिए । उनका किशोर छोरा षडानन्द शिवाकोटी पनि बुबाका पछिपछि लागेर बर्मा अर्थात् म्यान्मा नै पुगेका थिए । त्यहाँ पुगेपछि उनीहरूका लागि ‘के खोज्छस् कानो आँखो’ नै भएको थियो । भनौँ, त्यहाँ उनीहरूले खेतीपाती गर्ने राम्रै अवसर पाएका थिए ।
काशीनाथ शिवाकोटी म्यान्मा पुगेर खेतीपातीमा सबल भइसकेका थिए । तर त्यहाँ पनि उनीहरूका लागि कर्मले यथोचित साथ नदिएकै अवस्थाको सिर्जना हुन थालेको थियो । अथवा भनौँ, प्रथम विश्वयुद्धका कारण पराई देशमा उनीहरू रन्थनिनुरन्थनिन थालेका थिए । अन्ततः म्यान्मामा गरी खान उनीहरूको भाग्यले साथ दिएन । वास्तवमा उनीहरूको प्रारब्ध ‘बर्मा गए कर्मसँगै’मा रूपान्तर नै भएको देखियो । त्यसैले म्यान्मामा दस वर्षसम्म बसेपछि आफ्नो श्रीसम्पति छाडेर उनीहरू म्यान्माबाट अन्तैतिरको बाटो लाग्न बाध्य भएका थिए । त्यही दुःखद अवस्थाका कारण उनीहरू १९७२ सालतिर म्यान्माबाट आसाम पुगेका थिए । अनि आसामको बोकाखाटमा उनीहरूको बसोबास हुन थालेको थियो ।

षडानन्द शिवाकोटीले आसाममा नै विवाह गरे । त्यहाँ उनका छोराछोरी पनि जन्मे । केही वर्ष बसेपछि त्यहाँ उनको मन स्थिर हुन सकेन र उनी १९८६ सालतिर नेपाल आएका थिए । त्यस बेला उनी पत्नीबेगर नै आफ्ना बाबुबाजेले सृष्टि गरेकै ठाउँ तेह्रथुमको आठराई इवामा फुट्टो पुगेका थिए । अनि त्यहाँ बस्तै जाँदा त्यहीँको रसले उनलाई लोभ्याउन थालेको थियो । परिणामस्वरूप उनले त्यहाँ फेरि विवाह गरे । १९८७ सालमा मुक्तिनाथ उप्रेतीकी छोरी कमला उप्रेतीसँग उनको दोस्रो विवाह भएको थियो । कमला उप्रेती शिवाकोटी भन्नु मेरी आमा भागीरथा प्रसाईकी दिदी थिइन् । अथवा भनौँ, उनी मेरी आमाका काकाकी छोरी थिइन् ।
षडानन्द शिवाकोटी र कमला शिवाकोटीबाट एक छोरी र एक छोरा जन्मे । उनीहरूकी छोरी देवकलाको जन्म १९८८ असार ९ गते र छोरा शिवप्रसादको जन्म १९९० भदौ २७ गते भएको थियो । अनि ती दुवैको जन्म आठराई इवामा नै भयो । नेपालतिर श्रीमती र दुई सन्तानका पिता भएपछि षडानन्दले आफुलाई त्यहाँ पनि स्थिर राख्न सकेनन् । यसको मुख्य कारण के हो भने आठराईको इवामा पनि उनको भनेजस्तै खेती कमाइ भएको थिएन । त्यसैले त्यहाँ उनको मन बरालिन थाल्यो । त्यसपछि उन्नतिको बाटो समाउन उनी चिन्तित हुन थाले । अनि उनले आठराई छाड्नेबारे योजना बनाए ।
अन्ततः षडानन्द शिवाकोटीले आफ्नी जेठी श्रीमती भएकै ठाउँ अर्थात् आसाममा नै जाने निणर्य गरे । कान्छी पत्नी कमला र छोराछोरीसँग पनि उनले यसबारे सल्लाह गरे । सोहीबमोजिम कान्छी श्रीमती र छोरोसहित जेठी पत्नी भएठाउँ जाने विषयमा उनीहरूको मोतो पनि मिल्यो । त्यसपछि उनी कान्छी श्रीमती र कलिला छोराछोरी लिएर आसामतिर लागे ।
आसाममा षडानन्द शिवाकोटीले दुवै परिवारलाई एउटै घरमा राखेका थिए । तर उनकी जेठी पत्नीलाई पतिको चालामाला निको लागेको थिएन । यति हुँदाहुँदै पनि षडानन्दले आफ्ना दुवै पत्नीलाई एक वर्षसम्म अड्याएर एकै ठाउँमा राख्न सकेका थिए । तर त्यसपछि कान्छी श्रीमती आफ्नी सौतासँग टिक्न सक्ने अवस्था थिएन । त्यसैले शान्ति प्राप्तिका लागि उनले त्यो घर छोड्ने निणर्य गरिन् । त्यसै बेला षडानन्द शिवाकोटीको निधन भएको थियो ।
छहारी नै खसेपछि कमला शिवाकोटी र उनका नाबालक छोराछोरीको बिजोकै भयो । नचिनेको प्रवासमा घुस्रिने तिनीहरूको कुनै आधार पनि थिएन । अनि उनले पहाडै फर्किने सोच राखिन् । त्यसपछि उनी आफ्नो छोराछोरीलाई लिएर नेपाल नै फर्केकी थिइन् । त्यतिखेर उनीहरू सरासर आफ्नै जन्मभूमि इवामा नै पुगेका थिए ।
आफ्नो माइतीमा आएकी कमलाका लागि शिर बिसाउने मात्र काम भयो । तर उनका लागि बनीबुतो गर्नुपर्ने अवस्थाको सिर्जना हुन थाल्यो । सुरुका दिनहरूमा आमाछोराको भौतारिने मात्रै काम भयो । पहाडी जीवनमा उनीहरूले सोचेअनुसारको गाँसबासको उचित प्रबन्ध हुन सकेन । गाउँघर घुम्ने र आफ्नो दुक्ख बिसाउने सिवाय कमलाको अरू उपाय पनि थिएन । यता र उता डुलेकै भरमा उनको घरको स्थायी स्रोत पनि जुट्न सकेको थिएन ।
शिवप्रसाद शिवाकोटीको बाल्यावस्था अख्रक्कै परेको थियो । त्यतिखेर उनले न पौष्टिक आहार खान पाएका थिए, न त स्कुलेशिक्षा नै राम्ररी लिन पाएका थिए । पहाडमा उनीहरूको गुजारा टुमटुममा नै बित्ने गरेको थियो । त्यही परिवेशमा आर्थिक कारणले उनको आसन स्थिर पनि हुन सकेन । त्यस कालखण्डमा उनी एउटा ढुङ्गामाथि सरेको सिउँडीजस्तै थिए । भनौँ, उनले न मलजल पाए, न गतिलो ओत नै पाए । उनले किशोरावस्था टेकिन्जेलसम्ममा उनको कृत्य आमाको सेवा गर्नु र दिदी देवकलाको रक्षा गर्नुमा नै सीमित थियो । तर उनी कहिल्यै पनि आफ्नो जीवनदेखि भड्केनन् । भनौँ, उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘साग र सिस्नो खाएको बेस आनन्दी मनले’ भन्ने परिभाषामा अटल थिए ।
शिवप्रसाद शिवाकोटीभित्र ‘धैर्य’नामक एउटा तत्त्व जीवित थियो । अनि शिवप्रसाद शिवाकोटी भनेको त्यो नाउँ बन्यो— जसले हिम्मत हार्न कहिल्यै जानेन । क्रमशः उनी किशोरावस्थाको चुली पुग्दासम्ममा आफ्नै पौरखमा गौरव मान्ने रूपमा परिवारभित्र देखिन थालेका थिए । अनि सङ्घर्ष भनेको उनको जीवनको अपरिहार्य नाउँ बन्न गयो । त्यही सङ्घर्षले नै उनी वनको काँडाझैँ तिखारिन थाले । उनी त्यही तिखो, धारिलो र लाग्ने जीवनशैली बोकेर युवावस्था टेकेर नेपाली समाजमा हिँड्न थालिसकेका थिए ।
शिवप्रसाद शिवाकोटीको चेतनाको उचाइ बढोत्तरीमा थियो । त्यसैले मधेशमा गएर गरिखाने उद्देश्यका साथ उनले पहाड छाड्ने निर्णय आफ्नी आमालाई सुनाएका थिए । त्यतिन्जेलसम्ममा उनकी दिदीको पनि विवाह भइसकेको थियो । आमाछोराको सल्लाह मिलेपछि उनी आफ्नी आमा र श्रीमतीसँग झापातिर ओर्लिएका थिए । झापा पुगेपछि उनी एकातिर रामनाथ दाहालको परामर्शमा व्यापार व्यवसायमा लागे भने अर्कातिर दाहालसँगै बाँधिएर अन्याय, अत्याचार र रूढिवादी धारणाको विरोधमा लागे । उनी झापामा बस्तै जाँदा अन्याय र अत्याचारका विरुद्ध लड्ने धारिलो हतियार बन्न थालेका थिए । आफ्नो जीवनलाई आफैँ अर्जापेर क्रमशः उनले बिरालाकोटी नेपालीमध्येका अर्का एउटा सशक्त नमुना भएर उपस्थिति जनाउन थालेका थिए ।

‘शिवप्रसाद शिवाकोटीको जीवनी− २ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटी र रामनाथ दाहालको नातामा राजनीति’ पढ्नुहोला ।

 

यो पनि

झापा विद्रोह के हो ?
झापा विद्रोहको साक्षी ‘म’ र मेरी आमाका भक्त ‘शिव दाइ’ 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी