बैशाख २० एजेन्सी । भारतको पश्चिम बंगालमा गराइएको विधान सभा निर्वाचनमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई झड्का दिदै आफ्नो जीत कायम राखेको छ । ममता बनर्जी पुनः पश्चिम बंगालको मुख्यमन्त्री हुने संभावना बढेको छ । अहिले सम्म तृणमुल काँग्रेसले बहुमत सहित ठूलो अन्तरले जीत्ने निश्चित बनेको छ ।
वर्तमान मुख्यमन्त्री एवं तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी र भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीबीचको निर्वाचनका रुपमासमेत हेरिएको यस निर्वाचनमा बनर्जीले बाजी मार्न सफल भएकी छन् ।
निर्वाचन रुझानले बनर्जीको पार्टी २१३ स्थानमा अगाडी हुँदा मोदीको भाजपा जम्मा ७६ सीटमा समेटिएको छ । अरु दलको उपस्थिति नगण्य देखिएको छ । कुनैबेला राज्यमा कब्जाझै जमाएका कम्युनिष्टहरु जम्मा एक सीटमा जित्ने देखिँदैछ ।
२९४ सिट रहेको पश्चिम बंगालमा दुई कार्यकाल लगातार शासन गर्नुभएकी बनर्जीलाई हटाउन प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले सम्पूर्ण शक्ति केन्द्रित गर्नुभएको थियो ।
मत परिणामको अहिलेसम्मको रुझान हेर्दा सबैबाट ‘दिदी’ उपनाम पाउनुभएकी ममताको किल्ला भत्काउन मोदी–शाह जोडी विफल हुने प्रष्ट देखिएको हो । तृणमूल कांग्रेसको यस जीतमा भारतका विपक्षी दलहरुले पनि बधाई दिन थालेका छन् ।
यद्यपि, भाजपाले पाँच वर्ष पहिलेको तुलनामा यसपटक निकै राम्रो प्रदर्शन गर्ने देखिएको छ ।
सबैभन्दा ठूलो हार भारतीय कंग्रेसले व्यहोरेको छ । पाँच वर्षअघि ४४ सिट जितेको कंग्रेस १ सिटमा मात्र अगाडी छ । त्यसैगरी, अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्स्कवादी) पनि एक सिटमा समेटिने देखिँदैछ ।