कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ जना पुगेको छ । कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना सङ्क्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।

यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले महामारीका दौरान २५० जना चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालबाहिर करीब पाँच हजार चिकित्सक र १५ हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उहाँले बताउनुभयो ।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह

एनआरएनएले शुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । तभभिजभबतिज२लचलब।यचन मा इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिले दुईओटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ ।

डा सापकोटाले सङ्घले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड–१९ बाट जोगिन र सङ्क्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा सङ्घका महासचिव डा हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका ३०० शहरमा दुई हजार ५०० स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एनआरएनमार्फत एक लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो । त्यस्तै, सङ्घका संरक्षक एवं पूर्वअध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताउनुभयो । उहाँले संसारभर छरिएका स्वास्थ्यकर्मीले सामूहिक रुपमा सीमित स्रोत साधनबाट काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

मानसिक स्वास्थ्य समस्यामा वृद्धि

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकले बताएका छन् । समिति संयोजक डा सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका छन् । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, सङ्क्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायत समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताएका हुन् । मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालीम सञ्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली चिकित्सक सहभागी छन् । विदेशमा रहेका नेपालीको अवस्थाको तथ्याङ्क सङ्कलनमा युरोप संयोजक डा बोधराज सुवेदी, युकेबाट डा दिलीप यादव, कतारबाट डा नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा सरिता भट्टराई र स्पेनबाट नर्स साङ्ग्रिला लामा लगायतको टोलीले तथ्याङ्क सङ्कलन गर्न सहयोग गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी