एजेन्सी, माघ ८ । अमेरीकामा अब जो बाईडेनको युग शुरु भएको छ । उनले बाईबल छोएर शपथ लिएर कार्यभार सम्हाल्न थालेका छन् । निकै अनुभवि र परिपक्व राष्टपतिको रुपमा हेरिएकाले बाईडेनले टम्पले गरेका गलत निर्णयहरुलाई सच्याउने अनुमान गरिएको छ ।
राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका थिए ।
१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन् ।
यस शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति ट्रम्प उपस्थित भएनन् ।
ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी भएका थिए ।
यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिईन् । ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला हुन् ।
गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका थिए ।
ट्रम्प बाहिरिनु र बाईडेनको प्रवेश हुनु अघि जनवरी ६ मा क्यापिटल हिलमा ट्रम्प समर्थक हतियारधारीले मच्चाएको हिंशामा परी एक प्रहरी अधिकारी सहित ५ जनाको मृत्यु भएको थियो ।
३६ वर्षसम्म डेलावरबाट सिनेटर रहनुभएका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए ।
सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आएका बाईडेन तेस्रो पटकको पयासमा राष्ट्रपति बन्न सफल भएका हुन् ।
बाइडेन सामु कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने, शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वमा विग्रदै गएको अमेरीकी छविलाई सुधार्नु मुख्य चुनौती रहेको छ ।