काठमाडौँ मंसीर २ । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा होड चलिरहेका बेला अर्को अमेरीकी कम्पनी मोडर्नाले ९५ प्रतिशत सफल भएको दाबी गरेको छ ।
यस अघि फाईजरको ९० प्रतिशत प्रभावकारी दाबी गरिएको थियो भने रुसी कम्पनीको ९२ प्रतिशत सफल भएको घोषणा गरिएको थियो ।
मोडर्नाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो ।
अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोनाविरुद्धको तेस्रो चरणको चिकित्सकीय परीक्षणका उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको बताएको हो । मोडर्नाको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएको बताइएको छ । तीमध्ये आधालाई २८ दिनका अन्तरमा खोपको २ डोज दिइएको थियो भने आधालाई उति नै समयावधिमा प्लेसिबोको दुई सट दिइएको थियो ।
‘तेस्रो चरणको परीक्षणअन्तर्गतको अन्तरिम विश्लेषणले हाम्रो खोपले गम्भीर प्रकृतिका रोगसहितका कोरोना बिरामीलाई निको बनाउन सक्छ भन्ने देखिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मोडर्नाले विकास गरिरहेको खोपको सुरक्षित भण्डारण पनि फाइजरको भन्दा फरक रहेको छ । मोडर्नाले आफूले विकास गरिरहेको खोप माइनस ४ डिग्री सेल्सियसको तापक्रममै सुरक्षित रुपमा भण्डार गर्न सकिने दाबी गरेको छ । जुन घरमा राखिने फ्रिजमा पनि सम्भव देखिन्छ । तर फाइजरले बनाइरहेको खोप भने माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ ।
दुवै कम्पनीले अमेरिकाको नियमनकारी निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) बाट खोपको सुरक्षा र प्रभावकारिताबारे अझै पनि ‘सेफ्टी डेटा’ लिने काम गरिरहेका छन् ।मोडर्नाले केही हप्तामा एफडीएमा खोपको आपत्कालीन प्रयोगका लागि निवेदन पेस गर्ने बताएको छ ।