एजेन्सी कार्तिक २४ । कोरोना भाईरसले संसारलाई आक्रान्त बनाईरहेका बेला विश्व भर कोरोना विरुद्धको भ्याक्सिन निर्माण र परीक्षणको होड चलिरहेको छ । यस्तो बेला औषधी निर्माता कम्पनी फाईजर र बायोनटेकले उत्पादन गरेर परीक्षण गरेको भ्याक्सिन ९० प्रतिशत सफल भएको आज घोषणा गरिएको छ । यसले विश्वका ६ देशका ४३ हजार ५ सय नागरिकमा लगाईएको भ्याक्सिनले ७ दिन भित्रै रोगप्रतिरोधी क्षमताको विकास गरेको पाईएको छ । साथै यस भ्याक्सिनले कुनै पनि साईड ईफेक्ट देखाएको छैन ।
कम्पनीले यो रिपोर्ट जारी गर्दै आजको दिन विज्ञान र मानवताका लागि महान दिन भएको टिप्पणी गरेको छ ।
कम्पनीले यसै नोभमेम्बर महिनाको अन्त्य सम्ममा यो भ्याक्सिन प्रयोगका लागि आपतकालीन आवेदन दिन सक्ने जनाएको छ । रुस, चीन लगायतका देशले बनाएका भ्याक्सिनको पनि ट्रायल भईरहेको छ । तर सबै भन्दा पहिला फाईजरले तयार पारेको भ्याक्सिनले परिणाम दिएको कम्पनीको दाबी छ ।
यो भ्याक्सिन तीन साता भित्र दुई डोज लिनु पर्ने हुन्छ । फाईजरले यो बर्षको अन्त्य सम्ममा ५ करोड डोज तयार पार्ने र सन् २०२१ भित्र एक अर्ब ३ करोड डोज उत्पादन गर्ने घोषणा गरेको छ ।
यो भ्याक्सिनलाई शुन्यदेखि माईनस ८० डिग्री सम्मको तापक्रममा राख्नु पर्ने भएकाले गरीब देशहरु र लजिष्टक आपुर्ति कमजोर रहेको क्षेत्रमा प्रयोगमा जटिलता देखा पर्ने ठानिएको छ ।
फाईजरका अध्यक्ष डा. एल्बर्ट बोर्लाले विश्वका मानिसलाई संकटको यस घडीबाट बाहिर निकाल्ने समयको नजिक आफूहरु पुगेको बताएका छन् ।
बायोनटेकका प्रोफेसर उगुन शाहीनले यसलाई कोसेढुंगा भएको बताएका छन् ।
आजको विष्लेषण नै अन्तिम नभएको भन्दै कम्पनीले संक्रमित ९४ जनामा दिईएको भ्याक्सिन र विकास भएको प्रतिरोध क्षमताका आधारमा यो रिपोर्ट तयार पारिएको जनाएको छ ।
यो भ्याक्सिनका लागि बेलायतले ३ करोड डोज अर्डर दिएको छ ।